१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनीको नीति कार्यक्रममाथि छलफल : प्रतिपक्षीको विरोध, सत्तापक्षको बचाउ


65
Shares

बुटवल । लुम्बिनी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले सरकारको नीति तथा कार्यक्रममा गठबन्धन सरकारले दीर्घकालीन योजना ल्याएको आरोप लगाएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि सुरु भएको छलफलमा नेकपा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले मंसिरसम्मको सरकारले दीर्घकालीन महत्व राख्ने खालका योजनाहरु ल्याएको बताउनुभयो ।

पूर्व अर्थमन्त्रीसमेत रहनुभएका चौधरीले नीति तथा कार्यक्रम राजनीतिक भाषण जस्तो भएको टिप्पणी गर्दै सरकारले क्रमागत योजनाहरूभन्दा टुक्रे योजनाहरू ल्याउन उद्धत भएको आरोप लगाउनुभयो । नीति तथा कार्यक्रम अनुसार बजेट आउनेमा आशंका रहेको चौधरीको भनाइ थियो ।

विपक्षी दलका अर्का सांसद विष्णु पन्थीले आवश्यक नै नभएका योजनाहरू नीति तथा कार्यक्रममा राखिएको आरोप लगाउनुभयो । चुनावी सरकारले पूरा नै गर्न नपर्ने भएकाले उडन्ते योजनाहरू ल्याएको उहाँले बताउनुभयो ।

सत्तापक्षका सांसद सुदर्शन बरालले भने प्रदेश प्रमुखले नीति तथा कार्यक्रम पेश गरिरहँदा विपक्षी दलका नेता एवं पूर्व मुख्यमन्त्री शंकर पोखरेल उपस्थित नभएकोमा प्रश्न उठाउनुभयो ।

यस्तै सत्तापक्षका सांसद दामाकुमारी शर्माले उद्योग, कृषि शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको भन्दै प्रशंसा गर्नुभयो ।

छलफलमा सांसदहरू भोज प्रसाद श्रेष्ठ, भुवनेश्वर चौधरी, पुष्पा थरुनी, दीपा विश्वकर्मा, भगवतीदेवी भण्डारी, सरस्वती गौतमले नीति तथा कार्यक्रम राम्रो भएको भन्दै महिला स्वास्थ्य स्वयंसेविका, एकल महिलालाई सम्बोधन गर्न माग गरेका थिए ।

प्रदेशसभाको अर्को बैठक शनिबार दिउँसो १ बजे बस्नेछ ।