
काठमाडौं । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन आएको छ ।
शुक्रबार राति ९ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर रातिदेखि नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
यता, पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा साना गाडी मात्र सञ्चालन भैरहेको छ ।
आँबुखैरेनी नजिकै मर्स्याङ्दी विद्युत् गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि बन्द भएको सडक खण्ड मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि बन्द गर्न थालिएको छ । शुक्रबार बेलुकी ७ बजेदेखि बन्द गरिएको सडक बिहान ५ बजे खुले पनि साना गाडी मात्रै सञ्चालन हुन सक्ने आँबुखैरेनी प्रहरीले जनाएको छ ।
सडक मर्मत गर्न समय लाग्ने भएकाले ठूला गाडीलाई वैकल्पिक बाटोबाट सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ। सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ। ठूला गाडी सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला गाडी सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ।
शुक्रबार बिहान सडक भासिएर कार खस्दा दुई जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्