
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको आए पनि कार्यान्वयनमा चुनौती रहेको युवा उद्यमीहरूले बताएका छन् ।
हरेक वर्ष सरकारले युवा उद्यमी, स्टार्टअप व्यवसायको लागि विभिन्न कार्यक्रम घोषणा भए पनि कार्यक्रममा नै सीमित रहेको उनीहरूको गुनासो छ । उनीहरूले सरकारको नीति तथा कार्यक्रममा आउने तर कार्यान्वयनमा समस्या रहेको भन्दै यो वर्ष पनि त्यही समस्या दोहोरिनसक्ने आशंका व्यक्त गरे ।
नेपाल युवा उद्यम संघ ललितपुरका अध्यक्ष राजकरण श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यममैत्री रहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले स्नातक पास भएका युवालाई प्रमाणपत्र धितो राखेर ऋण दिने,नयाँ उद्यमीलाई सिटिईभिटिबाट उद्यमशील तालिम दिने कार्यक्रम ल्याएको बताउनुभयो ।
उहाँले कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले सरकारले भएका उद्योगको क्षमता वृद्धि गरेर युवाहरुलाई स्वरोजगारसहित उद्यमी बनाउनुपर्ने बताउनुभयो । युवाले सरकारसँग धेरै अपेक्षा नराखि सरकारले युवा उद्यमीको लागि ल्याएका कार्यक्रम बोनसमा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
त्यस्तै, युवा उद्यमी आभूषणज्योती कंशाकारले सरकारले आगामी वर्षको बजेट एउटा क्षेत्रलाई मात्रै नभइ मिसमास बनाएर ल्याएको बताउनुभयो । उहाँले युवा उद्यमी र उद्यमको लागि राम्रो बजेट आएपनि कार्यविधि बनाएर कार्यान्वयन गर्नसके मात्रै राम्रो हुने बताउनुभयो ।
कंंशाकारले सरकारले बजेट ल्याएपछि खर्च गर्न सक्नुपर्ने भन्दै बजेट युवा उद्यमीहरूलाई देखाउनको लागि राम्रो भए पनि वास्तविकतामा केही नभएको गुनासो गर्नुभयो । उद्योगलाई एक/दुई महिनाको अध्ययन गरेर युवा उद्यमीहरुको आवाजलाई सम्बोधन गर्ने गरी बजेट नआएको बताउनुभयो ।
त्यस्तै अर्का युवा उद्यमी मनिष थापाले सरकारले २०७१/०७२ सालदेखि युवामैत्री बजेट ल्याउने गरेपनि कार्यविधि बनाएर कार्यान्वयन भने हुन नसकेको बताउनुभयो । उहाँले बजेटमा ९ वर्षदेखि बजेटमा व्यवस्था गरेपनि युवा उद्यमीको लागि लक्षित स्टार्टअप व्यवसायको कार्यविधि बन्न नसकेको बताउनुभयो ।
सरकारले स्टार्टअप भने पनि कार्यविधि बन्न नसक्दा कस्तो व्यवसायलाई स्टार्टअप भन्ने यकिन नभएको बताउनुभयो । उद्यमी थापाले सरकारले २५ लाखसम्म बिनाधितो कर्जा दिने कार्यक्रम ल्याएको भएपनि राष्ट्र बैंक र बैंकहरुले कार्यान्वयन गर्न कार्यविधि बन्न नसकेको बताउनुभयो ।
त्यस्तै युवा तथा महिला उद्यमी निकिता राजभण्डारीले आगामी वर्षको बजेटमा नयाँ स्टार्टअप व्यवसायको लागि प्रोत्साहन गर्ने कार्यक्रमहरु ल्याउनु युवा उद्यमीको लागि प्रोत्साहन मिलेको बताउनुभयो ।
राजभण्डारीले सरकारले स्टार्टअप व्यवसायमा विदेशी लगानी धेरै ल्याउन पाउने व्यवस्था बनाएर लगानी ल्याउन पाउने सीमा कम गर्न माग गर्नुभयो । उद्यमी भण्डारीले महिलाहरुको लागि उद्यमशील बनाउनको लागि विभिन्न आरक्षण ल्याउनु आवश्यक रहेको बताउनुभयो ।
उद्यमी भण्डारीले उद्यमी बन्न चाहने महिला तथा युवाको क्षमता विकास, सीपमुलक तालिमको व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले अब शिक्षण सिकाइ प्रक्रियाबाट नै परिर्वतन ल्याएर विद्यालयको पाठ्यक्रममा नै उद्यमशीलता अध्यापन गराउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्