
काठमाडौं । एएफसी एसियन कप फुटबल अन्तर्गत तेस्रो चरणको छनोटमा नेपालले लगातार दोस्रो हार वेहोरेको छ ।
समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाललाई शनिबार राति घरेलु टिम कुवेतले ४–१ ले पराजित गरेको हो ।
कुवेतका लागि युसेफ अलसुलिमानले दुई तथा फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए ।
खेलको २८ औं मिनेटमा फाहदले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई दोब्बर अग्रता दिलाए । ७० औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई तेब्बर अग्रता दिलाए । ७३ औं मिनेटमा अल्फानिनीले गोल गर्दै कुवेतलाई ४–० ले अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले एक गोल गरे पनि नेपाल ४–१ ले पराजित हुन पुग्यो ।
यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग २–० गोलले पराजित भएको थियो । लगातार दोस्रो खेलमा पराजित भएसँगै अब नेपालको एसियन कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ ।
अब नेपालले समूहको अन्तिम खेलमा मंगलबार राति इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टिम आगामी वर्ष चीनमा हुने एसियन कप फुटबलको लागि छनोट हुनेछ ।
प्रतिक्रिया दिनुहोस्