
-संजिव कार्की
खतरासँग खेल्ने अर्थात जोखिम मोल्नेहरुलाई मुटु नभएको भनिन्छ । मुटु नहुनुको अर्थ हो हिम्मतिलो । आज म त्यस्तै हिम्मतका साथ खतरासँग पौठेजोरी खोज्ने पात्र र प्रवृतिलाई आफ्नो लेखको विषय बनाउँछु । ‘मुटु चाहिन्छ मुटु’ भन्नुको मतलव पनि हिम्मतिलो मुटु नै हो । स्वस्थ मुटु । मुटु छैन भन्नुको अर्थ झिंगाको झैँ मुटु नै नहुने जैविक शरीर पनि होइन । मुटु भएको र मुटु नभएको दुवै भनाइको आशय एकै हुन्छ । फराकिलो मुटु, ठूलो मुटु । यसर्थ मानव मुटु विहीन हुँदैन तर मुटुको विशेषता हुन्छ । ठूलो मुटु या सानो मुटु । यो तौल र साइजको आधारमा नभएर कार्य क्षमताको आधारमा हुन्छ । हिम्मतिलो मुटु या साधारण मुटु । म हिम्मतिलो मुटु भएको प्रधानमन्त्रीको बारेमा केही उल्लेख गर्न चाहन्छु ।
यहाँ मुटु भएको भने पनि मुटु नभएको उधृत गरेपनि हिम्मतिलो, साहसी, पराक्रमी भनेर बुझ्नुपर्छ । प्रधानमन्त्री आफैंमा हिम्मतिलो हुनुहुन्छ यदि हिम्मत नहूँदो हो त २५/२६ साल तिर बामपन्थी बन्न सक्नु हुन्थेन । बामपन्थी बन्नु मात्रै होइन बामपन्थी बनेर बर्ग शत्रु सफाय भन्दै झापाका धर्म प्रसाद ढकालहरुको टाउको गिंडन सक्नु हुन्थेंन । मुटु नभएको कारण नै २०२८/०२९ तिर झापा विद्रोह भनेर धेरैको टाउको गिंडन सफल हुनु भएको हो । मुटु दह्रो र बलियो भएकै कारण १४ वर्ष जेलको यातना खप्न सकेर आज दुई दुई पटक मृगौला प्रत्यारोपण गरेर पनि अरु आँटिलो र साहसी हुनुहुन्छ । लोकतान्त्रिक पद्दतिबाट आएर अलोकतान्त्रिक बाटोको जोखिम उठाउने कसरत गर्नुहुन्छ । आफू हिम्मतिलो भएको कारण अरु अर्थात पत्रकार, बुद्दिजीवी र विद्वानहरु हिम्मतिला भएनन् भनेर गुनासो गर्नुहुन्छ । हेप्नु हुन्छ खिज्याउनु हुन्छ अनि उडाउनु हुन्छ ।
म आज प्रधानमन्त्रीकै नजरबाट ति मान्छेहरुको हिम्मतको कथा सुनाउछु । कथा घटना धेरै पुराना छैनन् ताजा र सबैको स्मृतिमा झल्झली भएका मात्रैको स्मरण गराउन चाहें । जसको हिम्मतको कारण आज देखिएको परिणाम बताउँछु । यी मुटु भएका पत्रकार हुन् या मुटु नभएका बर्ग छुट्याउने काम तपाईको तर यिनको कलमले शक्तिशाली तपाईको पार्टीका सदस्य जनयुद्धको राप र तापमा खारिएका कृष्णबहादुर महरा जेल जानुपर्यो । तपाईलाई लाग्ला त्यो त रोशनीको करामत हो । पक्कै रोशनीको करामत हो तर त्यो बाहिर ल्याउने हिम्मत गर्नेको मुटुलाई मान्छेहरुले क्याबात भनेका छन् । यति समुहको लुट सरकारी छूट र उसको स्वार्थको लागि नियम नै फेरबदल गर्ने प्रधानमन्त्रीज्यूको मन्त्रिपरिषद्को निर्णय खोतल्ने दुस्हास पनि पत्रकारको कलमले नै गरेको हो ।
आज यतिको लुट र सरकारको मिलेमतोमा भएको राज्य दोहनको बारे सामान्य नेपाली पनि जानकार छ । यो लेख्न यो छाप्न प्रशारण गर्न मुटु चाहिन्थ्यो त्यस्तो मुटु भएको संस्था र ब्यक्तिहरु सरकारी तलब खाने र सरकारको स्वामित्वमा रहेका रेडियो, टेलिभिजन र पत्रिकमा निस्चय नै थिएनन् । होइनन । सरकारी दानापानी खाएकको मुटु त्यस्तो बलियो हुँदैन नि प्रधानमन्त्री ज्यू ? त्यो त न्युनतम बेतन पनि खान मुश्किल हुने सच्चा नेपालीको पत्रकारिता थियो ।
देश प्रतिको दायित्व र माटोको ममता थियो । मलाई थाहा छैन त्यस्ता पत्रकारको मुटुमा रातो रगत कति हुन्छ रु मलाई यति मात्रै थाहा छ तिनको मुटुमा देशको माया अवश्य अटाइ न अटाइ छ । प्रधानमन्त्री ज्यू , तपाईका विश्वास पात्र र राजनीतिक तुलोमा एकातिर एक्लै बस्दा सबैभन्दा भारी हुने । उनको अनुहार देखेपछि सरकारको विरोधीको मुख बन्द गर्ने ल्याकत राख्ने गोकुल बाँस्कोटाको घूस बार्गेनिङको समचार सुँघेर पत्ता लगाउने पनि त्यही पत्रकार हो त्यो आँट देखाएर प्रकाशमा ल्याउने पनि चारकोठे मुटु नै हो । मुटु भएका र नभएका पत्रकार भएको कारण नै संकटको घडीमा देशको रगत चुस्ने ओम्नी समुह अनि तपाईका मन्त्रीहरुको हर्कत बाहिर आएको हो नि, होइन र ? हेर्नुस त आज कत्रो लाज भएको छ । लाज ढाक्ने टालो समेत राख्न नसकेर मन्त्रीहरु दिनानुदिन बदनाम र असक्षम हुँदैछन ।
संकटको बेला बोल्नु हुँदैन भनेर चुप बसेका भए आज अर्बौं रुपैंयाँ देशको भण्डारबाट बिचौलिया, दलाल र माफियाहरुको खल्तीमा पुग्थ्यो तर केहि त बच्यो नि रु गरिब निमुखाको लागि सिटामोल किन्ने पैसा त जोगियो नि । त्यो यिनै छुद्र पत्रकारको कलमको कारण सम्भव भएको नबिर्सनुस । आज जे जति उद्दार ,राहत र स्वास्थ्य समस्या कोरोनाले दिएको कस्ट र दुःखका समाचार बाहिर आउँछन ति सबै पत्रकार कै कारण आएका हुन । ज्यान हत्केलामा राखेर फिल्डमा रहे , भएकै कारण सब पिंधका खबरदेखि उच्च तहका बदमासी सार्वजनिक भएको हो । तपाईलाई ताज्जुब लागेको छ नि जिल्लाको सिडिओलाई थाहा नहुने , प्रहरीलाई थाहा नहुने, तपाईको नियन्त्रणमा रहेका सरकारी संचार माध्यमलाई थाहा नहुने तर अरुलाई कसरी थाहा भयो रु मुटु नभएका मान्छेहरुको कारण नै यो सब थाहा भएको हो । तपाई रहस्यमय भन्नुहुन्छ षड्यन्त्र देख्नुहुन्छ तर थाहा पाउनेहरुले केवल जिम्बेवारी पुरा गरेका हुन् । जे भएको छ तथ्य पस्केका हुन समाचार बनाएका हुन, दृश्य देखाएका हुन यो किन थाहा छ प्रधानमन्त्री ज्यू ।
काँधमा जिम्मेवारी र मुटुमा निष्ठा बोकेको कारण नै खतरा मोलेर जनताको मर्का र पिर भन्न राज्यको ध्यान आकर्षण गर्न पत्रकारहरु घर बाहिर छन । चोक, गल्ली, बाटो बाटोमा दिनरात बसेर रिपोर्टिङ गर्छन । यिनै पत्रकारको आवाजको कारण नै आवाजवीहिनहरुले थोरै भएपनि राहत पाएका हुन् । एक मानो चामल र एक मुठी दाल भेट्टाएका हुन् । मजदुर, ज्यामी र विपन्नले घर जाने बातावरण पाएका हुन । पत्रकारको मुटु भएकै कारण आफ्ना मृत आफन्तको कृया गर्न महाकाली पारीबाट मान्छे आफ्नो माटोमा पस्न पाएको हो । महाकालीमा हेलिएर नांगै आएकालाई शहर घुमाउने पुलिसको हर्कत सबैको अघिल्तिर आएको हो ।
औषधि लिन जाँदा बाटोमा पिटिने सर्वसाधारण अनि रात्रीकालिन ड्यूटीबाट लखतरान भएर बास फर्कदा पिटिने डाक्टरको अवस्था मिडिया आएको हो । भोकै हिंडेकालाई छाक काटेर भात खुवाउने अनि खर्च दिएर पठाउने, गाडीको बन्दोबस्त गरिदिने दयालु पुलिसको समचार पनि पत्रकारकै कलम मार्फत आएको छ । उद्दार गर्ने व्यक्ति, समुह देखि दानवीर मान्छेहरुको दानधर्मिता अनि आफ्ना नागरिकको लागि खट्ने जन प्रतिनिधि, सांसद र मन्त्रीको लागि स्याबासी पनि बुद्दिजीवी विद्वान र पत्रकारकै कलमको करामत हो । प्रधानमन्त्रीज्यू कुकर्मलाई सुकर्म लेखिन्न । सुकर्म गर्दा कन्जुस्याइँ गरिन्न । स्तुति मन पर्दैन तर प्रशंसा कामको गर्ने हो नकामको होइन । तर पनि कति क्रुर र निर्दयी आरोप लगाउनु भयो हगि ? विद्वान र बुद्दिजीवी अनि पत्रकारहरुलाई कोरोना नेपालमा नफैलीएकोमा ठूलो चिन्ता छ ।
कति कठोर ठट्टा? कति पीडादायी व्यंग ? संकटग्रस्त परिस्थिति र भयग्रस्त मनस्थिति अनि अभावग्रस्त अवस्थामा देशका मुलीको मुखरावृन्दबाट यस्तो बोलिनु शुभ संकेत पक्कै होइन । उहाँले यस्तो अशुभ उसै बोल्नु भएको ख्याल ठट्टामा भन्नुभएको जस्तो पनि लागेन । गहिरो खोज ,अनुसन्धान, विश्लेषण र योग्यतमहरुको उचित परामर्श अनि सल्लाहमा यस्तो निचोड निकालेको हुनुपर्छ । उहाँको तर्क र प्रमाण के छ्न कुन्नि अवश्य राष्ट्रको इन्टेलिजेन्सले उहाँलाई यथा सम्भव प्रमाण र कारण बुझाएको होला । अन्यथा त्यो पदको गरिमाले यो बेला त्यस्तो अप्रिय कुरा बोल्न धेरै पटक निधार ,पटकपटक निधार खुम्च्याउनु पर्ने हो । म एक भुइँ मान्छेको दिमागमा यस्ता सम्भावित कारणहरु हुन सक्छ्न जस्तो लाग्यो । देशमा मृत्युको आगो फैलिएको हेरेर रमाउने रहर यी मान्छेहरुमा कसरी पलायो रु आफ्नै खरानी उडाउने रहर कथं बाँचे पूरा गर्लान रु मरे भने यत्रैसिति हो त ?
मलाई यो कुराले अचम्मैसँग झस्कायो । यी विद्वान बुद्धिजीवीले कोरोना फैलिंदा आफूमात्रै बच्ने कोरोना प्रुफ शरीर कहाँबाट पाए रु कोरना फैलँदा यिनका घरपरिवार आफन्त सबै जोगिन्छ्न कि रु यिनका पनि लालाबाला होलान् । बाबुआमा र स्वास्नी दाजुभाइ दिदीबहिनी होलान् या यिनका कोही आफन्त छैनन् जसलाई आफू बाँचे पुग्यो रु यी बुद्धिजीवी र विद्वानले कुनै औषधि नै पो अन्वेषण गरे कि रु कोरोनाले नछुने, नभेटने रु कुनै तन्त्रमन्त्र, जादु ,टुनामुना पो छ कि यिनीहरूसँग रु जो कोरोना देशमा नफैलिएकोमा चिन्तित छन् । कि यिनीहरू बाँच्ने मोह सिध्धिएका मोक्षका भोगी मनुवा हुन ? नेपाल खरानी होस भन्ने मनसुवा राख्छन् ,जो रातदिन कोरोना नफैलिएकोमा दुखी छन ? कि यिनलाई यो रहस्य थाहा छ कोरोनाले सिध्याउने के पि वृत्त तिनका समर्थक र सरकार अनि नेकपालाई मात्रै हो ? होइन भने किन यति ठूलो चिन्ता र उत्सुकता छ नेपालमा कोरोना फैलिएन भनेर रु कोरोना फैलिदा आफ्नो र आफ्नाको लागि अर्कैलोक चन्द्रलोक तिर घर घडेरी र बन्द ब्यापारको बन्दोबस्ती पो छ कि ? कोरोना तिमीहरूलाई लाग्दैन हामी ग्यारेन्टी गर्छौ भनेर कुनै देसीबिदेशी प्रतिक्रियावादीहरुले ग्यारेन्टी कार्ड नै पो दिएका छ्न कि रु प्रधानमन्त्री ज्यू उचित जबाफ खोज्नु यो कलमकर्मीले आफ्नो अधिकार सम्झ्यो ।
प्रधानमन्त्री ज्यू, यी मुटु नभएका मान्छेहरु तपाईको स्टालिन बन्ने रहरसँग पनि डराउदैनन । बिपक्षी नभएको संबैधानिक निकायको परिकल्पनासँग पनि डराउने छैनन् । कोरोनासँग बचेर नै तपाईसँग जुध्न आउँछन । सहयात्रा गर्न आउछन । आफ्नो मुटु छैन भन्दैमा अर्काको पनि मुटु छैन नभन्नुस है । तपाई जस्तै मुटु भएका मान्छेहरुको कमि छैन यहाँ । संवेदित मुटु, संवेदनशील मुटु र पराक्रमी मुटु । हामी पनि माछाको झैँ दुई कोठा मात्रै भएको या भ्यागुताको झैँ तीन कोठा हुने मुटु भएका मान्छे होइनौं । पूर्ण स्वस्थ मन, मुटु र मस्तिष्क हुने मान्छे हौं । अझ भनौं मुटु रोग विशेषज्ञले भने झैँ स्वस्थ मुटु जहाँ दायाँतर्फको दुई कोठाबाट अक्सिजन कम भएको निलो रगत बहन्छ र बायाँ तिरबाट अक्सिजनले भरिपूर्ण रातो रगत बग्दछ यस्तो मुटु भएका मान्छे हौं ।
देशको संवेदनशील परिस्थिति, विश्व नै भयले आक्रान्त भएको बुझ्छौ तर यसको अर्थ यो होइनकी राज्य निकम्मा हुदाँ पनि चुप बस्न सकियोस । मौन बसुन कलमहरु ? यस्तो नसोच्नुस । देश हामीलाई पनि दुख्छ आसाध्यै गरेर । पीडा हामीलाई पनि छ मुटु फुट्ने गरेर त्यसैले बोल्छौ ,लेख्छौ । पत्रकारहरुले यतिबेला स्याबासी नै अपेक्षा गरेका थिएनन् । छैनन् तर यति तुच्छ आक्षेप लगाउनु भयो । यस्तो महाब्याधिको अप्ठ्यारोमा सरकार चुकेको हुन सक्छ, कमजोरी र लुपहोल्स हुन सक्छन । सरकारको सिमित श्रोत र साधन छ । यसैबीच जनताको आशा र बाध्यतामा सरकारको दृष्टि कहिकतै कमी भएको हुनसक्छ सक्दो खबरदारी गर्नुस है भनेको भए वा प्रधानमन्त्री भनेर प्रधानमन्त्रीको विनयशिलताले सामान्य कमजोरीलाई मानवीय स्वभाव भनेर भुल्न सकिन्थ्यो तर दम्भ , अहंकार र अभिमानी शैली देखाउनु भयो दुःख लागेको छ ।
प्रतिक्रिया दिनुहोस्