
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको आगमन टर्मिनल भवन शिलान्यास भएको छ ।
आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भवनको शिलान्यास गर्नुभएको हो ।
आन्तरिक हवाई यात्रुको चाप बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको टर्मिनल भवन बनाउन लागेको बताएको छ । भवनको शिलान्यास गर्दै मन्त्री आलेले भवन निर्माणको काम समय अगावै सक्न भवन निर्माणको जिम्मा पाएको ब्राइट मल्टी कन्स्ट्रक्शनसँग आग्रह गर्नुभयो । एक वर्षभित्र आन्तरिक टर्मिनल भवन ५ करोडमा निर्माण गर्ने लक्ष्य छ ।
उहाँले प्रस्तावित आन्तरिक टर्मिनल भवनमा भीआईपी कक्ष, शौचालयको व्यवस्था, यात्रुलाई बस्ने व्यवस्था र ६० वर्ष उमेर समूहमाथिका मानिसलाई बस्न कुर्सीको व्यवस्था हुनेपनि बताउनुभयो । मन्त्री आलेले विमानस्थलको सरसफाईलाई ध्यान दिँदै अबका दिनमा विमानस्थलमा हुने फोहोरलाई व्यवस्थापन गर्न निर्देशन समेत दिनुभयो ।
त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले हेलिकप्टर कम्पनीहरुलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण गर्दा परेको कठिनाइलाई मध्यनजर गरेर नलिनचोकमा करिव ३२ रोपनी जग्गामा हेलिप्याड निर्माणको लागि बोलपत्र आह्वान गरेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षभित्रमा हेलिप्याडको काम सकिने जानकारी दिनुभयो ।
महानिर्देशक अधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन धेरै पुरानो भएकोले निकट भविष्यमा नै त्रिभूवन विमानस्थलको अर्को टर्मिनल भवनको खरिदप्रक्रिया सुरू गर्ने बताउनुभयो ।
आइतबार नै त्रिभूवन विमानस्थलको आन्तरिक टर्मिनल भवनको स्टोराइल हलको बिस्तारित कक्ष तथा बुटिक अवधारणाअनुसार नवनिर्मित वाटर फाउण्डेशनसहितको रोटरी आइल्याण्डको पनि उद्घाटन भएको छ ।
प्रतिक्रिया दिनुहोस्