२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लैंगिक हिंसा तथा मानव बेचबिखनको अन्तरसम्बन्ध दर्शाउने अध्ययन प्रकाशित


78
Shares

काठमाडौं । द एशिया फाउण्डेशनले लैंगिक हिंसा तथा मानव बेचबिखन अन्तरसम्बन्ध दर्शाउने अध्ययन प्रकाशित गरेको छ ।

लैंगिक हिंसा तथा मानव बेचबिखन अन्तरसम्बन्ध कार्यक्रमको तर्जुमाका सन्दर्भमा–नेपालमा काठमाडौं, मोरङ्ग, सुनसरी र बाँकेका गरी ७० जनाभन्दा बढी व्यक्तिहरुसँग अन्तर्वार्ता गरी अनुसन्धान गरिएको थियो ।

नेपालमा गरिएको अनुसन्धानले लैङ्गिक हिंसा र मानव ओसारपसार (टिआइपि) को अन्तरसम्बन्ध दर्शाउन र सोको छनोट , पहिचान र सुधारका लागि चाल्नुपर्ने कदमका साथसाथै समग्र लैंगिक हिंसाको दृष्टिकोणबाट ओसारपसारमा परेकाहरुका लागि दिनु पर्ने सेवाका सम्बन्धमा एक प्रारम्भिक दस्तावेज तयार गरेको छ ।

यसै सन्दर्भमा द एशिया फाउण्डेसनले अफिस टु मनिटर एण्ड कम्ब्याट ट्राफिकिङ इन पर्सन्स (जे/टिआइपि, संयुक्त राज्य अमेरिका डिपार्टमेन्ट अफ स्टेट) को सहयोगमा मानव ओसारपसार तथा लैंगिक हिंसाका पिडितहरुलाई सेवा प्रवाह बिषयमा दक्षता अभिबृद्धि तथा प्रभावकारिता सुधार गर्नका लागि आवश्यका जानकारी दिएर सहयोग गर्न तीन लक्षित देशहरु भारत, नेपाल, र श्रीलंकामा एक बहु देशीय अनुसन्धानमा आधारित अध्ययन संचालन गरेको थियो । उक्त अनुसन्धान संचालनको लागि भारतमा एफएक्सबि इण्डिया सुरक्षा, श्रीलंकामा नीति विश्लेषण केन्द्र, र नेपालमा सोसल साइन्स बाहासँग सहकार्य गरी ती देश केन्द्रित अनुसन्धान गरिएको थियो ।

अध्ययनको क्षेत्रीय सम्मेलन सन् २०२१ को मार्च २४ र २५ मा दिल्लीमा सम्पन्न भएको थियो । उक्त सम्मेलनमा भारत, श्रीलंका र नेपालका प्रमुख सरोकारवाला निकाय तथा अधिकारीहरु लगायत गैर–सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको बारेमा भारतको लागि एशिया फाउण्डेसनकी कन्ट्रि प्रतिनिधि नन्दिता बरुहले उक्त अनुसन्धानका बिषयमा व्यक्त गर्नुभएको मन्तव्य उल्लेखनीय थियो । मन्तव्यका क्रममा उहाँले अनुसन्धानले लैगिक हिंसा र मानव ओसारपसार बीचको अन्तरसम्बन्धलाई उजागर गर्न निकै मद्दत गरेको बताउनुभएको थियो । उहाँले प्राप्त सुझावहरुले मानव बेचबखिनको मुख्य कारकको रुपमा लैङ्गिक हिंसालाई औंल्याएको उल्लेख गर्नुभएको थियो ।

बरुहले मुख्य सूचनादाताका अन्तर्वार्ताहरु, सरोकारवालाहरुसंगको अन्तर्वार्ताहरु, लक्षित समुहका छलफलहरु, कानून तथा सहायक सामग्री अर्थात द्वितिय स्रोत सामग्रीको पुनरावलोकनद्वारा सूचित गरिएको अध्ययनले लैंगिक हिंसा र मानव बेचबिखनको सम्बन्ध तथा पिडितहरुले भोगेको हिंसालाई दर्शाएको,विशेषज्ञहरुसंगको सहकार्यमा तयार गरिएका उपकरणहरु एवं सिफारिसहरुले मानव बेचबिखन कार्यलाई रोक्न तथा सेवा वितरणमा पीडितहरुको पहुँचलाई सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्तव्यका क्रममा सोसल साइन्स बाहा, नेपालका निर्देशक दीपक थापाले कोभिड १९ जस्तो महामारीको दौरानमा संचालन गरिएको यस अध्ययनले लैङ्गिक हिंसा र मानव ओसारपसार दुवैको रोकथामको लागि कानून लागू गर्ने अधिकारीहरु एवं सेवा प्रदायकहरुले सामना गरिरहेका विभिन्न अड्चनहरु तथा प्रभावितहरु उपर पारेको असर, खास गरेर पीडितहरुको छनौट र पहिचान गर्ने बिषयमा प्रकाश पार्न सफल भएको बताउनुभयो ।

नेपालमा कोभिड १९ को परिस्थितिलाई मध्यनजर राख्दै सुरक्षाका लागि भर्चुअल रुपमा मार्च २२, २०२१ का दिन राष्ट्रव्यापी सम्मेलनको आयोजना गरिएको थियो । प्रतिवेदनले विद्यमान कानूनी संरचनाका साथसाथै पहिचान गर्ने र सेवा उपलब्धता विषयका दुवै सवालहरुमा केन्द्रित गरेर लैङ्गिक हिंसा र मानव बेचबिखन (टिआइपि) को अन्तरसम्बन्धलाई औल्याएको छ । यी दुई मुद्दाहरुबीच रहेको अन्तरसम्बन्धलाई नजिकबाट नियाल्दै अनुसन्धानले पिडितहरुलाई अझ राम्रो सेवा प्रदान गर्न सेवाहरुलाई अलग पार्ने वा एकीकृत गर्ने भन्ने सम्भावनालाई प्रमुख रुपमा उल्लेख गरेको छ ।

यसका साथै अनुसन्धानले टिआईपी (मानव बेचबिखन) पीडितहरुको लैङ्गिक हिंसा जोखिम र (जिभिपी)ले कसरी लैङ्गिक हिंसा निम्त्याउँछ भनेर पहिचान गर्नका लागि आवश्यक दिशानिर्देशन अथवा स्तरीय संचालन प्रक्रिया(एसओपि) को सम्भावना तर्फ पनि संकेत गरेको छ ।