१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एसपीपीबारे प्रधानमन्त्री देउवाले सदनलाई जवाफ दिनुपर्ने गगन थापाको माग


442
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनलाई जवाफ दिनुपर्ने माग गर्नुभएको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेसहितका सांसदहरुले अमेरिकी सो प्रोग्रामबारे गम्भिर प्रश्न उठाईरहेका बेला सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहनुभएका थापाले तत्काल संसदमा उभिएर त्यसको जवाफ दिन रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री देउवासँग माग गर्नु भएको हो ।

बुधबार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै उहाँले एसपीपी प्रोग्राम केपी ओली नेतृत्वको अघिल्लो सरकारले अघि बढाएको भन्ने कुरा समेत आईरहेको उल्लेख गर्दै त्यसबारे सत्य कुरा के हो ? सरकारले तत्काल संसदमा जानकारी गराउनुपर्ने बताउनु भयो । महामन्त्री थापाले सो प्रोगाम पूर्ववर्ती रक्षामन्त्रीहरुले अगाडि बढाएको हो कि भन्ने आशंका पनि व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘यो सम्झौंता के हो ? कसेको पालामा सुरु भयो ? कहाँबाट आयो ? हामी बाहिर छापाहरुमा पढिरहेका छौं–यो १० बूँदा । एउटा पक्ष भन्छ–यो असत्य हो । त्यस्तो कुनै बूँदा छैन । सेनाको प्रवक्ता भन्नु हुन्छ–आजसम्म हामीले त्यसबारे कुनै पनि थाहा पाएका छैनौं । समाचारहरु प्रशस्त आईरहेका छन । नेशनल गार्डको वेबसाईट हामीले हे¥र्यौ भने २०१९ तिर पूर्ववर्ती सरकारको पालमा यो प्रस्तावको बारेमा त्यो बेलानै आएको कतै भनिएको छ । पूर्ववर्ती रक्षामन्त्रीहरुले यसलाई सकारात्मक भएर अगाडि बढाएको भन्ने समाचारहरु पनि केही पढन पाईन्छ । यस्ता कुराहरु आईसकेपछि सरकारले तत्काल यहाँ उभिएर आफ्नो आधिकारिक धारणा प्रष्टसँग राख्नुपर्छ ।’

यसैगरी सांसद थापाले शेयर बजारमा निरन्तर आइरहेको गिरावटबारे चासो राख्दै धेरै साना लगानीकर्ताको लगानी जोखिममा परेको र एकै पटक ४० लाख लगानीकर्ताको लगानी डुब्दा त्यसको दबाब अर्थतन्त्रले थेग्न नसक्ने बताउनुभयो । नेपाल राष्ट्र बैंकको शेयर कर्जा नीतिले बजार घटेको संकेत गर्दै उहाँले अस्थिर नीति सच्याउन माग गर्नुभयो ।