१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बुटवलमा चुरेको पहिरो रोक्न वृक्षरोपण


91
Shares

बुटवल । चुरे पहाडको पहिरो रोक्नका लागि बुटवलमा वृक्षरोपण गरिएको छ । बुटवलको ज्योतिनगरस्थित चुरे पहाडबाट पहिरो खसेको ठाउँमा पर्खाल लगाउनुका साथसाथै वृक्षरोपण गरिएको हो ।

बिहीबार चुरे दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाको आयोजना, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ बुटवल र नेपाली सेनाको श्री गरुड दल गण रामनगर ब्यारेक बुटवलको सहकार्य र समन्वयमा बाँसका बिरुवा रोपिएको हो ।

पहिरो रोकथामका लागि पर्खाल लगाइएको क्षेत्र आसपासमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेपाली सेनाका जवान र स्थानीय सहितको टोलीले बाँसका विरुवा रोपेको हो ।

बिरुवा रोपेपछि नगरप्रमुख पाण्डेले ज्योतिनगर क्षेत्रको पहिरो रोकथामका लागि पर्खाल लगाउने, पानीको वहाव परिवर्तन गर्ने र वृक्षरोपण गरिएको बताउनुभयाे ।

उहाँले पहिरोको जोखिम कम गर्न र दीर्घकालीन रुपमै समाधान गर्नका लागि बिरुवा रोप्ने र संरक्षण गर्ने काममा नगरले ध्यान दिएको जानकारी दिनुभयाे ।

नगरका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले पहिरो नियन्त्रणका बुटवल उपमहानगरपालिकाले निरन्तर रोकथामका कार्यक्रम र जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयाे ।

बुटवल उपमहानगरपालिका विपद् व्यवस्थापन महाशाखाका प्रमुख इन्जिनियर योगेश चापागाईका अनुसार ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा भूक्षय नियन्त्रणका लागि ९ सय वटा बाँसका बिरुवा रोपिएको हाे ।