२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


ओलीले अमेरिकासँग एसपीपी अघि बढाए : वामदेव गौतम


1.365k
Shares

काठमाडौं । राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दाबी गर्नुभएको छ ।

सांसद गौतमले एसपीपी सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने विषय संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीको रूपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताउनुभएको हो ।

गौतम, कोइराला नेतृत्वको सरकारको उपप्रधानमन्त्री हुनुहुन्थ्यो । यसको सुरुवात जसले गरे पनि त्यसबेलाका प्रधानमन्त्री ओली यसलाई अघि बढाउन काममा संलग्न हुनुभएको उल्लेख गर्दै उहाँले सदनलाई पनि सो कुरा बताउनुपर्ने माग गर्नुभयो ।

सांसद गौतमले अध्यक्ष ओलीप्रति संकेत गर्दै सो सत्यकुरा बताउँदा कुनै पनि पार्टी र त्यसका नेताको व्यक्तित्व सानो नहुने बताउनुभयो ।

सरकार र सरकारको नेतृत्वको गरेको कांग्रेसले अघि नबढाउने भनेपछि एसपीपी सम्बन्धी समस्या समाधान भएको पनि पटक–पटक दोहोर्‍याउनुभयो ।

प्रस्तावको विषयमा जवाफ दिन भने प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभयो ।

सांसद गौतमले प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा उठेका प्रश्नको जवाफ आफैंले नदिएर संसदीय मर्यादामाथि आघात पुर्‍याएको दाबी समेत गर्नुभयो ।