
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल सहभागी नहुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र लेख्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित विश्वको सर्वोच्च शिखर सगरमाथामा राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’ सहितको झण्डा फहराउने पर्वतारोहीहरूलाई ‘चन्द्रस्मृति विशिष्ट प्रतिभा सम्मान’ हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाल कुनै पनि हालतमा स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुनु नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवालाई एसपीपी नेपालको लागि आवश्यक छैन भनेर अमेरिकालाई पत्र लेख्न आग्रह गर्नुभयो ।
अध्यक्ष थापाले एसपीपीको सम्बन्धमा विवाद देखिएको उल्लेख गर्दै विवादको निराकरणका लागि अमेरिकालाई पत्र लेखेर यसबाट अलग हुनुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको चलखेल केन्द्रको रूपमा देखा पर्न थालेको बताउनुभयो । उहाँले नेपालको दुवै छिमेकी मुलुकहरू चीन र भारतसँगको सम्बन्ध राम्रो अवस्थामा नरहेको बताउनुभयो ।
सरकारको क्रियाकलापका कारण चीनले नेपाललाई आशंकाको दृष्टिले हेर्न थालेको उहाँको भनाइ छ । छिमेकी मुलुकहरूसँगको सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उहाँले छिमेकीहरूलाई नचिढ्याउन प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो ।
अध्यक्ष थापाले अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा करको दर हेरफेर गर्न असम्बन्धित र गैरजिम्मेवार व्यक्तिहरूलाई संलग्न गराउनु जघन्य अपराध भएको टिप्पणी गर्नुभयो । उहाँले उक्त कार्य आर्थिक अपराध, असंवैधानिक र गैरजिम्मेवारपूर्ण भएको बताउनुभयो ।
उहाँले अर्थमन्त्री शर्माले अहिलेसम्म राजीनामा नदिएको तथा प्रधानमन्त्रीले नहटाएको भन्दै आश्चर्य प्रकट गर्नुभयो । उक्त कार्य संवैधानिक, नैतिक र राजनीतिक दृष्टिकोणबाट आपत्तिजनक भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्