
काठमाडौं । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको चर्को विरोध गर्दै संसदको सर्वोच्चतालाई शिरमा राखेर प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवाले संसदीय समितिको बैठकमा अनुपस्थित भएर संसदीय मर्यादाकै हुर्मत लिनुभएको छ । संसदप्रति उत्तरदायी हुनुपर्ने व्यक्ति नै अनुत्तरदायी हुँदा संसदीय समितिले प्रधानमन्त्री जस्तो उच्च ओहोदामा रहेका व्यक्तिलाई स्पष्टिकरण सोध्नुपर्ने अवस्था आइपरेको छ ।
गत शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषयमा छलफलका लागि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको थियो । तर प्रधानमनत्री देउवा संसदीय समितिको बैठकमा नगएपछि समिति सदस्य पवित्रा निरौला खरेलले समितिकै अपमान भएको टिप्पणी गर्नुभयो ।
तत्कालीन प्रधामन्त्री केपी शर्मा ओलीले २ पटक प्रतिनिधिसभा विघटन गर्दा संसदीय व्यवस्थानै खतरामा परेको भन्दै त्यही व्यवस्था जोगाउन सरकारमा आएको गठबन्धनका प्रमुख नेता देउवाले समितिको बैठक बहिष्कार गरेर संसदीय प्रणाली प्रतिकूल काम गरेको टिप्पणी हुन थालेको छ । अझ नेपाली कांग्रेसले आफ्ना दस्तावेजहरुमा संसदीय प्रणालीको सवोच्चतालाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्ने गरेको छ ।
जनप्रतिनिधिले समितिले बोलाएको बैठकमा विशेष कारण बाहेक अनुपस्थित हुन पाइँदैन । तर समितिले पटकपटक ताकेता गर्दा पनि प्रधानमन्त्री देउवाले समितिमा आउन रुचि नदिनुलाई गैरसंसदीय आचरणका रुपमा सांसदहरुले टिप्पणी गरेका छन् । जब कि समिति बैठक बसिरहँदा प्रधानमन्त्री देउवा गठबन्धन्को बैठकमा व्यस्त हुनुहुन्थ्यो ।
देउवा अनुपस्थित भएपछि एमाले नेता भीम रावलले समितिको बैठकमा लोकतन्त्र खतरामा पर्यो भनेर प्रधानमन्त्री बन्नुभएका देउवाले लोकतन्त्रको रक्षा गरेको यही हो त भन्ने प्रश्न गर्दै खेद प्रस्ताव पारित गर्नुपर्ने जीकीर गर्नूभएको थियो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कहिल्यै संसदीय समितिमा उपस्थित नभएको कारण देखाएर कांग्रेस सांसदहरुले बचाउ गर्न खोज्नु अर्को गल्ती हो । गलत परम्परा सुधार्नुपर्नेमा त्यसलाई अत्तो थापेर लाज ढाक्न खोज्नु जनताको सर्वोच्चता रहेको संसदको अपमान हो ।
प्रतिक्रिया दिनुहोस्