
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको भेटमा महामन्त्रीद्वय थापा र शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्नुभएको हो ।
त्यसक्रममा पार्टी र सरकार सञ्चालन तथा सार्वजनिक सरोकारका विषयमा उनीहरूले सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । भेटमा शर्मा र थापाले प्रधानमन्त्री देउवालाई अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध हुन नसक्ने भनेर पत्राचार गर्न आग्रह गरेका छन् ।
त्यस्तै, पुँजीबजारमा भइरहेको आन्दोलनलाई समेत सम्बोधन गर्न सुझाव दिएको महामन्त्री थापाले बताउनुभयो । भेटमा पार्टीको महाधिवेशन भएको छ महिना बित्न लागेको र त्यो अवधिमा पूरा गर्नैपर्ने कतिपय विधानले तोकेका कार्यहरू रहेको भन्दै ती कार्य पूरा गर्नुपर्ने विषयमा कुराकानी भएको थियो ।
यस्तै, भ्रातृ संस्थाको पदाधिकारी नियुक्ति गर्नुपर्ने, नीति महाधिवेशन बोलाउने लगायत कामको लागि प्रक्रिया अघि बढाउनुपर्ने बारे छलफल भएको नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्