
काठमाडौं । राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने खालको नभएको दाबी गर्नुभएको छ ।
संविधान बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनेगरी हरेक गतिविधि गर्ने प्रतिवद्धता जनाउँदै आएको सरकारले कृषि क्षेत्रको बजेटमा भने त्यसतर्फ कुनै पनि दृष्टिकोण पुर्याउन नसकेको सांसद गौतमले बताउनुभयो ।
सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले कृषि क्षेत्रका लागि छुट्टयाएको बजेटले त्यसको आधि कार्यक्रम पनि लागू गराउन सक्ने अवस्था नरहेको बताउनुभयो ।
सांसद गौतमले सरकारले कृषि क्षेत्रको विकासका लागि राम्रो कार्यक्रम ल्याए पनि त्यसका लागि बजेटको व्यवस्था गर्न नसकेको पटक–पटक दोहोर्याउनु भयो ।
सांसद गौतमले कृषि क्षेत्रको विकास नभई मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न नसकिने उल्लेख गर्दै त्यसै अनुसारको बजेट ल्याउने काममा सरकारसँग दृष्टिकोणको अभाव रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्