१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अध्ययन हुँदैछ, ग्यासमा दुईथरी मूल्य तोकिन्छ : कार्यकारी निर्देशक थानी

आईओसीलाई तिर्न बाँकी रकम २२ अर्ब

663
Shares

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्यासमा छिट्टै दुईथरी मूल्य तोक्ने बताउनुभएको छ ।

इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताउनुभएको हो ।

उहाँले आयल निगमले छिट्टै ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोकेर जाने बताउनुभयो ।

कार्यकारी निर्देशक थानीले औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ फरक बनाउने पनि बताउनुभयो ।

उहाँले ग्यासमा दोहोरो मूल्य कायम गर्नुको लागि गुणस्तर तथा नापतौल विभागको महानिर्देशकको नेतृत्वमा विज्ञ सदस्य सहितको समितिले अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक थानीले अर्थ मन्त्रालयले आयल निगमलाई पठाएको पत्रअनुसार चालु आर्थिक वर्ष सम्मको लागि पूर्वाधार करमा १० रुपैयाँ कर घटाएको बताउनुभयो ।

उहाँले अर्थ मन्त्रालयको पत्रअनुसार नै निगमको सञ्चालक समितिले प्रतिलिटरमा १० रुपैयाँ घटाउने निर्णय गरेको बताउनुभयो ।

थानीले अहिले पनि निगम मासिक ४ अर्ब रुपैयाँ घाटामा गइरहेको बताउनुभयो । उहाँले अब आइओसीसँग खरिद गरेको मूल्यमा कर थप गरी आउने लागत मूल्यमै इन्धन बिक्री गरिने बताउनुभयो ।

कार्यकारी निर्देशक थानीले पेट्रोल अहिले पनि प्रतिलिटर १३.५८ रुपैयाँ, डिजलमा १३.९५ रुपैयाँ र ग्यासमा प्रतिसिलिण्डर ७१५ रुपैयाँ घाटा रहेको बताउनुभयो । उहाँले २०७१ साल देखि नै खरिद मूल्यमा बिक्री गर्न पाएको भए यति ठूलो घाटा नहुने अवस्था रहेको बताउनुभयो ।

कार्यकारी निर्देशक थानीले आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दाबी गर्नुभयो । थानीले चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर रहेकोमा वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको तर जेठमा घटेर ५९ हजार किलोलिटरमा झरेको बताउनुभयो ।

त्यस्तै, उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डेले हाल स्वाचालित मूल्यअनुसार बिक्री गर्दा पेट्रोलको मूल्य १९९ रुपैयाँ कायम भएको बताउनुभयो । उहाँले निगमले इन्डियन ओयल कर्पोरेसन (आईओसी)लाई २२ अर्ब दिन बाँकी रहेको भन्दै उक्त रकम भुक्तानी नभएसम्म आईओसीले तेल दिन्न भन्न थालेको बताउनुभयो ।

सचिव पाण्डेले सरकारले उपभोक्तालाई कसरी सहज र सुपथ मूल्यमा पेट्रोलियम पदार्थ वितरण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेको बताउनुभयो ।