७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एन्फा अध्यक्षमा पंकज नेम्वाङ विजयी


780
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुङ्गो लगाएको छ ।

अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकजविक्रम नेम्वाङ निर्वाचित भए । कुल ८४ मध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गरे ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलकै वीरबहादुर खड्का ४४ मतसहित विजयी हुँदा शेर्पा प्यानलका उम्मेदवार शिक्षित पराजुलीले ४० मत मात्रै प्राप्त गरे । उपाध्यक्ष पदमा पनि नेम्वाङ प्यानल हाबी भयो । चार उपाध्यक्षमध्ये तीन जना नेम्वाङ प्यानलका उम्मेदवार विजयी हुँदा शेर्पा प्यानलका एक उम्मेदवार विजयी भए । नेम्वाङ प्यानलबाट दावा लामा, दीपक खतिवडा र विराटजंग शाही निर्वाचित हुँदा शेर्पा प्यानलका दीर्घबहादुर (कुमार) केसी विजयी भए ।

महिला सदस्यमा दुवै प्यानलका एक–एक उम्मेदवार विजयी भए । शेर्पा प्यानलकी पेमा डोल्मा लामा र नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ विजयी भए । १३ खुल्ला सदस्य पदका लागि भएको निर्वाचनले ११ जना मात्रै चयन गरेको छ । नेम्वाङ प्यानलबाट ६ तथा शेर्पा प्यानलबाट ५ सदस्य विजयी भएका छन् । चार जना सदस्यका उम्मेदवारको समान ३९–३९ मत भएपछि दुई सदस्यको टुङ्गो लागेको छैन ।

एन्फाको विधानअनुसार सोमबार नै पुनः निर्वाचन गर्न सम्भव नभएपछि बाँकी दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुङ्गो लगाउनु पर्ने भएको छ । सदस्य पदमा नेम्वाङ प्यालनका रविन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री र विजय नारायण श्रेष्ठ विजयी भए । शेर्पा प्यानलका रमेश व्यञ्जनकार, भरत बुढा थापा, टिका लामा, मणिराज विष्ट र मनिष जोशी विजयी भए ।

कार्यसमितिको पहिलो बैठकले संघको महासचिव र कोषाध्यक्ष मनोनयन गर्नेछ । र एन्फाको नयाँ कार्यसमिति २३ सदस्यीय बन्नेछ । 

एन्फाले आगामी चार वर्षका लागि नयाँ कार्यसमितिको निर्वाचन गरेको हो ।