
काठमाडौं । प्रदेश सांसदहरुले नेपालमा जलवायु परिवर्तनको असर डरलाग्दो बन्दै गएको भन्दै सचेत हुनुपर्ने बेला आएको बताएका छन् ।
नेपालमा पछिल्लो समय जलवायुजन्य परिवर्तनका कारण मानवजीवनमा ठूलो असर परिरहेको भन्दै त्यसतर्फ तीन वटै सरकार सचेत भएर काम गर्ने बेला भएको बताएका हुन् ।
जलवायु परिवर्तनको असर सबैभन्दा धेरै महिलालाई पर्ने गरेको विज्ञहरुको भनाइ छ । जलवायु परिवर्तनका कारण खानेपानीको मुहान सुक्नुले पानी लिन टाढा धाउनुपर्ने बाध्यता छ । जसकारण घरको काम गर्ने महिलाहरुमा झनै बढी कामको चाप थपिएको छ । यसको प्रत्यक्ष असर हिमाली र पहाडी भेगका महिलाहरुमा परेको छ ।
कर्णाली प्रदेश सांसद एवं कर्णाली प्रदेशकी सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीले जलवायु परिवर्तनको असर मानवविकासमा समेत परिरहेको बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा जलवायुका परिवर्तनका कारण भूक्षय, बाढीपहिरोको प्रकोप उच्च रहेको र विकासका पूर्वाधारहरु पनि पर्याप्त नभएको गुनासो गर्नुभयो ।
अध्यक्ष ओलीले कर्णाली प्रदेशलाई हरेक हिसावमा विकास र सुशुचित पार्न गाह्रो रहेको बताउनु भयो । उहाँले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशको संस्कृति, स्थानीय भाषा, महिलाहरुको सामाजिक संरचना, कुरीति महिलाहरुप्रति सांस्कृतिक हिसावले पनि धेरै बन्देजहरु रहेको बताउनु भयो ।
बागमती प्रदेशकी सांसद एवं उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले पार्टीगत रुपमा नै नेतृत्व वर्गमा महिलाको बारेमा सोचाई फरक रहेको बताउनुभयो । उहाँले महिलालाई कुनैपनि जिम्मेवारी दिँदा पूरा गर्नसक्ने आधार तयार भइसके पनि नेतृत्व तहमा अझै महिलालाई नेतृत्व प्रदान गर्ने बुझाइमा विकास हुन नसकेको बताउनुभयो ।
सभापति आलेमगरले निडरका साथ राम्रो काम गर्दा वयवधान आएपनि समाधान गरेर अघि बढ्ने आफ्नो कार्यको अनुभव रहेको बताउनुभयो ।
महिला तथा सीमान्तकृत समुदायहरुको जीविकोपार्जन तुलनात्मक रुपमा प्राकृतिक श्रोतमा बढी निर्भर छ । यी श्रोत जलवायु परिवर्तनका असरप्रति अति संवेदनशील रहेका कारण श्रोतहरुको उपलब्धता र गुणस्तरमा आएको क्रमिक ह्रास एवं क्षतिका कारणले ती क्षेत्रको जीवनस्तरमा प्रत्यक्ष असर पर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्