
काठमाडौं । सरकारले तत्कालै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन नसक्ने जनाएको छ ।
प्रतिपक्षी दललगायतको चर्को विरोधसँगै सभामुख अग्नि सापकोटाले रुलिङपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदमा जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले इन्धनको मूल्यवृद्धि बाध्यात्मक भएको बताउनुभयो ।
मन्त्री बडूले अन्तर्राष्ट्रिय स्तरमा हुने मूल्य निर्धारणले नेपालमा मूल्य घटबढ हुने स्मरण गराउँदै हाल अस्वभाविक लाग्नेगरी भएको मूल्यवृद्धि पनि अन्तर्राष्ट्रिय बजारले नै निर्धारण गरेको तर्क गर्नुभयो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र बिक्री वितरण कानून र नीतिगत व्यवस्था अनुरुपनै भएको मन्त्री बडूको जिकिर छ । तर, सासंसदहरूले पेट्रोलियम पदार्थ खरिदका लागि भारतको विकल्प खोज्न र सस्तो बजार खोज्न सुझाव दिएका छन् ।
यस्तै सासंसदहरूले सरकारले मूल्यवृद्धि गर्नु बाध्यता रहेको बताए पनि त्यसलाई नियन्त्रण गर्न वा आम नागरिकलाई सहुलियत दिन कुनै योजना नदेखिएको भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिए ।
अन्तर्राष्ट्रिय बजारले इन्धनको मूल्य निर्धारण गर्ने भएकाले मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेको लाचार जवाफ मन्त्री बडूको छ ।
इन्धनमा विभिन्न शीर्षकमा लगाएका कर छुट दिने नचाहेकाले सरकार आफैँ आम उपभोक्तालाई महंगो मूल्यमा इन्धन बिक्री गरिरहेको छ ।
पर्याप्त विकल्प भए पनि अन्तर्राष्ट्रिय बजारले मूल्य निर्धारण गरेर नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको गैरजिम्मेवार जवाफ दिन सरकार सधै तयार भएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सडकदेखि भान्सासम्मको मूल्यवृद्धि भएको छ । हेर्दा इन्धनमा मात्र मूल्यवृद्धि गरेको भए पनि त्यसको प्रत्यक्ष असर दैनिक उपभोग्य वस्तुदेखि हरेक क्षेत्रमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्