
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले ऊर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिनुभएको छ ।
बुधबार राष्ट्रिय संसदअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले विश्वभर नै इन्धनको मूल्य बढिरहेको र विकसित मुुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल ऊर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिक रूपमा पनि ठूलो समस्यामा फस्ने दाबी गर्नुभएको हो ।
कार्यकारी निर्देशक थानीले श्रीलंकाले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक संकट व्यहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसुचित बनाउनुपर्ने बताउनुभयो ।
अहिलेको विद्युत महशुल तिरेर कसैले इण्डक्शन चुलो नबाल्ने भन्दै उहाँले भएको महशुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने बताउनुभयो । उहाँले नेपाल विद्युत प्राधिकरणले दिएको महशुल भन्दा एलपी ग्यास सस्तो पर्ने अवस्था रहेको पनि स्मरण गराउनुभयो ।
कार्यकारी निर्देशक थानीले गत वर्षको चैतमा वैशाखमा ३५ हजार मेट्रिक्टन एलपी ग्यास आयात भएकोमा यस वर्षको वैशाखमा ४५ हजार र जेठमा ४८ हजार मेट्रिक्टन एलपी ग्यास आयात भइसकेको बताउनुभयो ।
एलपी ग्यासको खपत दिनप्रतिदिन बढिरहेकाले देशमा डरलाग्दो अवस्था सिर्जना भइरहेको थानीले बताउनुभयो । उहाँले नेपाल आयल निगम प्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यास बिक्री गर्न बाध्य भइरहेको भन्दै ऊर्जा व्यवस्थापन कार्यलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।
कार्यकारी निर्देशक थानीले मुलुकको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । समितिको बैठकमा सांसदहरूले विद्युतीय ऊर्जालाई प्रोत्साहन गर्न सरकारले विद्युतको महशुलमा कम गर्न आवश्यक रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्