
काठमाडौं । मनसुन सुरु भएसँगै सरुवा रोगको जोखिम उच्च हुने भएकाले स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन् ।
यतिबेला खानेपानीको मुहान नै पदूषित हुने हुँदा आउँ, हैजा, झाडापखाला, हेपाटाइटिस र जन्डिसजस्ता रोगको जोखिम अधिक हुने उनीहरू बताउँछन् । काठमाडौंका अस्पतालमा बढ्दो चापले समेत यो अवस्थाको संकेत गरेको छ ।
गर्मी महिना लागेसँगै वर्षेनी सरुवा रोगका संक्रमित विरामीको संख्या बढेको चिकित्सकहरूले बताएका छन् । विशेष गरी पानीजन्य, हावाजन्य र किटजन्य रोगका विरामी उपचारका लागि आएको चिकित्सक बताउँछन् ।
हेपाटाइटिस, हैजा, झाडापखाला, टाइफाइडजस्ता रोग खानपान र पानीका कारण तथा डेंगू, मलेरिया र इन्फ्लुइन्जाजस्ता रोग हावाबाट सर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।
मौसम परिवर्तन हुनासाथ आउने यस्ता किसिमका रोगबाट बच्न आमनागरिकले आफ्नो खानपान तथा जीवनशैलीमा ध्यान दिनुपर्ने डा. पुनको भनाइ छ । खानपानको लापरबाहीका कारण रोगले मानिसलाई मृत्युको मुखसम्म पु¥याउने भएकाले सचेत रहन उहाँको आग्रह छ ।
बर्खायाम सुरु भएसँगै आएका बाढी पहिरो तथा जथाभावी थुप्रिएका फोहोरबाट निस्किएको दुर्गन्धका कारण वातावरण प्रदुषित हुने जोखिम उच्च छ ।
बढ्दो सहरीकरण त्यसमाथि दुषित हावापानी र खानपानको सन्तुलन नमिल्दा आउँ, हैजा, झडापखाला जस्ता घातक सरुवा रोगहरूको जोखिम उच्च हुँदै गएको छ । हिउँदको तुलनामा बर्खामा संक्रामक रोग अधिक हुने भएकाले खानपान र जीवनशैलीमा ध्यान दिनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्