
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना बित्दा कर्णाली प्रदेश सरकारको बजेट खर्च ३० प्रतिशत मात्रै भएको छ ।
चालु आर्थिक वर्षमा ३६ अर्ब ५४ करोड ६६ लाख ३५ हजार विनियोजन गरेको कर्णाली प्रदेश सरकारले साढे ११ अर्ब बजेट मात्रै खर्च गर्न सकेको हो ।
प्रदेश सरकारले पुँजीगततर्फ विनियोजित २१ अर्ब ६५ करोड ३९ लाख बजेटमध्ये २५ दशमलब शून्य चार प्रतिशत मात्र खर्च गरेको छ ।
त्यस्तै चालुतर्फ विनियोजित ११ अर्ब ४९ करोड २७ लाखमध्ये ३८ दशमलब ९२ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको २२ दिनभित्र बाँकी करिब २४ अर्ब बढी बजेट खर्च गर्नुपर्ने छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुल बजेटको १४ दशमलश ८७ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले कुल बजेटको ५४ दशमलब शून्य तीन प्रतिशत बजेट खर्च गरेको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय ३४ दशमलब ९५ प्रतिशत बजेट खर्च गर्दा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले २९ दशमलब ६४ प्रतिशत बजेट खर्च गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४० दशमलब ३३ प्रतिशत बजेट खर्च गरेको छ ।
असार मसान्तसम्म थप ४५ प्रतिशत बजेट खर्च गरी कुल बजेटको ७५ प्रतिशत हाराहारीमा बजेट खर्च गरिने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्