१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तानसेन नगरपालिकाले २० युनिटसम्म विद्युत् महशुलमा छुट दिने


78
Shares

काठमाडौं । पाल्पाको तानसेन नगरपालिकाले विद्युत् महशुलमा छुट दिने भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौं नगरसभामा नगरपालिकाले उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल भुक्तानी गरिदिने भएको हो । यसका लागि आवश्यक कार्यविधि बनाएर लागू गरिने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

समुदायबाट सञ्चालित लिफ्ट खानेपानी आयोजनामा खपत हुने विद्युत् महसुलमा २५ प्रतिशत अनुदान दिने बताइएको छ ।

राजस्व सङ्कलनको अवस्थाका आधारमा वडालाई बजेट विनियोजनमा प्राथमिकता दिने, विपन्न नागरिकलाई न्यूनतम विद्युत् महसुलमा छुट दिने, लिफ्टिङ् खानेपानी योजनामा उपभोक्तालाई महसुलमा छुट दिने, तानसेनको फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अध्ययन तथा कार्य गर्ने नगरपालिकाले जनाएको छ ।

विगतमा अगाडि बढाइएको छोरी शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने, एक वडा एक किलोमिटर सडक विस्तारलाई निरन्तरता दिने, ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य पहुँच पुर्‍याउन स्वास्थ्य केन्द्र सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

विगतको अधुरा योजना र केही नयाँ योजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । कृषि पशुपालनलाई प्राथमिकतामा राखेर दूध र मासुमा नगरलाई आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ ।

नगरभित्रका आर्थिक रुपले पछि परेका, विपन्न समुदाय बोटे, माझी समुदायको आर्थिक विकासका लागि छुट्टै कार्यक्रम ल्याउने घोषणा गरिएको छ । पाल्पाली ढाका र करुवाको विकास तथा प्रवर्द्धन गर्ने नगर उपप्रमुख प्रतिक्षा सिञ्जालीले बताउनुभयो ।

कृषि पशुपालन गर्ने किसानलाई एकल वा सामूहिक रुपमा अनुदान साझेदारी कार्यक्रम सञ्चालन गर्ने, उर्वरभूमिको संरक्षणका लागि भूमिको वर्गीकरण गर्ने, कृषियोग्य जमिनमा संरचना बनाए त्यसको राजस्व दोब्बरले वृद्धि गर्ने, विभिन्न अपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने लगायतका नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको छ ।