
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भेटिएपछि एक हजार तीन सय पंक्षी नष्ट गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फार्मका टर्कीमा बर्डफ्लु पुष्टि भएपछि नष्ट गरिएको हो ।
केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो ।
फार्ममा एक सयभन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौं पठाइएको थियो । बर्डफ्लुकै कारण टर्की मरेको पुष्टि भएको जनाइएको छ ।
टर्कीमा बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बर्डफ्लु नियन्त्रण समितिको बैठकले सो फार्ममा रहेका टर्की, ब्रोइलर र लोकल कुखुरा नष्ट गर्न निर्देशन दिएको थियो ।
प्रशासनको निर्देशनपछि पशुपंक्षी चिकित्सकसहितको टोलीले बर्डफ्लु देखिएको स्थानदेखि पाँच सय मिटर वरपरको क्षेत्रमा पालिएका पंक्षी नष्ट गरेको हो ।
टोलीले साना ठूला गरी एक हजार दुई सय ब्रोइलर कुखुराका चल्ला, ८० वटा टर्की र लोकल कुखुरा नष्ट गरेको निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्