१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको सम्भावना कम : नेता पुन


273
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन हुने सम्भावना कम रहेको बताउनुभएको छ ।

सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण वाम गठबन्धनको सम्भावना नरहेको जिकिर गर्नुभयो ।

ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेकाले अझै जरुरी रहेको उहाँको भनाइ छ ।

नेता पुनले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले आफूलाई फाइदा हुने र गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गरेको टिप्पणी गर्नुभयो ।

आफू जित्ने ठाउँमा माओवादीलाई अन्य दलसँग गठबन्धन गर्न नदिने तर माओवादीले जित्ने ठाउँमा भने गठबन्धन गरेर कांग्रेसले जितेको उहाँको जिकिर थियो ।

कांग्रेसको चलाखीका बाबजुद अझै गठबन्धनको औचित्य नसकिएको भन्दै नेता पुनले सम्मानजनक नभए टुट्न सक्ने चेतावनी दिनुभयो ।

केही देशीविदेशी तत्वहरुले यस पटकको निर्वाचनमा माओवादी केन्द्र पत्तासाफ हुने हल्ला चलाए पनि जनताले त्यसलाई गलत सावित गरिदिएको उहाँको भनाइ थियो ।