१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धवलागिरि अस्पतालमा बिरामीको चाप ह्वात्तै बढ्यो


104
Shares

काठमाडौं । बागलुङको धवलागिरि अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ ।

बिरामीको चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा समेत बिरामीलाई लामो लाइन बस्नुपर्ने अवस्था आएको छ ।

भाइरल रोग, सरुवा रोग लगायत छालाको एलर्जी, ज्वरो, झाडापखलाका बिरामी थपिएको अस्पतालले जनाएको छ ।

गर्मी लागेसँगै बिरामीको संख््यामा वृद्धि भएपछि अस्पतालमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी व्यस्त देखिन्छन् ।

अस्पतालमा अहिले दैनिक ३ सय देखि ४ सय बिरामी सेवा लिन आइरहेका अस्पतालले जनाएको छ । वर्षातको समयमा दूषित पानीको प्रयोग गर्दा झाडावान्ता, पखला लाग्नेलगायतका समस्याका कारण बिरामीको संख्यामा वृद्धि भएको अस्पतालको भनाइ छ ।

बिरामीको चाप बढ्दै गएपनि दरबन्दीका चिकित्सक नआउँदा करार र छात्रवृत्तिका चिकित्सकको भरमा अस्पताल चल्दा बिरामीलाई गुणस्तरीय सेवा दिन असहज भइरहेको छ ।

एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा दरबन्दीका मेडिकल सुपरिटेण्डेन्ट मात्रै रहेका छन् । मेडिकल अधिकृत र विशेषज्ञको सबै दरबन्दी खाली छ । अस्पतालले हाल करार र छात्रवृत्तिका चिकित्सकको भरमा स्वास्थ्य सेवा दिइरहेको छ ।