
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले मुलुक विभिन्न शक्ति राष्ट्रबीचको द्वन्द्वको अखडामा पर्ने खतरा देखिएको औंल्याएका छन् ।
‘शक्ति राष्ट्रले अनेक ढंगले षड्यन्त्रपूर्वक दाउपेच गरिरहे पनि त्यसलाई चिर्न नसक्नु दुःखद् हो,’ राजधानीमा सोमबारदेखि सुरु पार्टी केन्द्रीय परिषद् प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘राष्ट्रियता कमजोर हुन्छ कि भन्ने चिन्ता थपिएको छ, हाम्रो नेपाल कतै शक्ति राष्ट्रको द्वन्द्वको अखडामा पर्ने त होइन ? भन्ने चिन्ता थपिएको छ, यसबाट हामी सजग हुनुपर्छ ।’
हाल, नेपाल नेतृत्वको दलसमेत गठबन्धन सरकारमा सहभागी छ । आफ्नै दल सम्मिलित सरकारले ‘राष्ट्रियता बलियो बनाउन नसकेको’ भन्दै उनले चिन्तासमेत व्यक्त गरे । असंलग्न परराष्ट्र नीति अवलम्बन हुनुपर्नेमा जोड दि“दै उनले ‘हरेक देशसँग नेपालले मित्रता भाव राखेर अघि बढ्नुपर्ने’ आवश्यकता पनि औंल्याए ।
भ्रष्टाचार व्यापक मौलाएको भन्दै नेता नेपालले ‘नेपालको अर्थतन्त्र र राजनीतिमा दलाल शक्ति हावी हुनेक्रम बढ्दो’ रहेको पनि सुनाए । ‘भ्रष्टाचार व्यापक मौलाएको छ, पार्टीहरूमा पनि भ्रष्ट प्रवृत्ति देखिएको छ, । त्यसको असर हाम्रो पंक्तिमा पनि पर्ने हो कि भन्ने चिन्ता छ,’ उनले भने, ‘पार्टीको ध्यान आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचन केन्द्रित हुनुपर्छ ।’
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्