
काठमाडौं । जापान सरकारले राजधानी टोकियो र त्यस वरपरका बासीन्दालाई कम बिजुली खपत गर्न आग्रह गरेको छ ।
जापानमा ताप लहर चलेकाले विद्युत् आपूर्तिमा समस्या सिर्जना हुनसक्ने जनाउँदै कम बिजुली खपत गर्न आग्रह गरिएको हो । जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले जनताले अनावश्यक बत्ती निभाउनु राम्रो हुने जनाएकाे छ । तर अत्यधिक गर्मीबाट बच्नका लागि अझै एयरकन्डिसन चलाउन सक्ने जनाएको छ ।
सरकारी अधिकारीहरूले तापक्रम बढ्दै गइरहेकाले केही सातासम्म विद्युतको अभाव हुनसक्ने चेतावनी दिएका छन् । यो साताको अन्त्यमा टोकियोको मध्यभागमा तापक्रम ३५ डिग्री सेल्सियस भन्दा माथि रहेको र राजधानीदेखि उत्तर पश्चिममा रहेको सेसाकीमा तापक्रम ४० दशमलव २ डिग्री सेल्सियस सम्म पुगेको छ । जापानमा जुन महिनामा यति उच्च तापक्रम मापन भएको पहिलो पटक हो ।
जुनदेखि जापानमा गर्मीयाम सुरु हुन्छ । प्रायः यस महिना तापक्रम ३० डिग्री सेल्सियस भन्दा कमै रहने गर्दथ्यो ।
प्रतिक्रिया दिनुहोस्