
काठमाडौं । झरीले मौसम प्रतिकूल हुँदा देशका विभिन्न स्थानमा हवाइ उडान प्रभावित भएको छ । सोमबार रातिदेखिको वर्षाले विराटनगर विमानस्थल अवरुद्ध भएको छ भने पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थलबाट पनि उडान हुन सकेको छैन । काठमाडौं विमानस्थलमबाट भने आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
यस्तै, पहिरो गएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकमा यातायात अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिक माथिबाट सडकमा पानीको ठूलो छहरा खसेको छ । छहराका कारण सवारी साधन ओहोरदोहोर हुन नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
यता, नारायणगढ–मुग्लिन सडक भने आज मंगलबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । आज बिहान २ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक एकतर्फी सञ्चालन हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्