१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अविरल वर्षाले बुटवल–पाल्पा सडक अवरुद्ध, निकास नहुँदा बुटबल बन्यो जलमग्न


286
Shares

काठमाडौं । बिहानैदेखि अविरल पानी पर्दा रुपन्देही क्षेत्रका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् ।

आज मंगलबार बिहानैदेखि भएको वर्षाले बुटवल–पाल्पा सडक अवरुद्ध बनेको हो ।

लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलका अनुसार बुटवल–पाल्पा सडकअन्तर्गत सिद्धबाबा नजिकै माथिबाट आएको भेलका कारण सडक अवरुद्ध बनेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुण खोलामा पनि सडक अवरुद्ध भएको छ । खोलामा बाढी आएपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।

यता, बुटवलका मुख्य बजारमा ढल निकास व्यवस्थित नहुँदा बिहानैदेखिको अविरल वर्षाले बुटवल जलमग्न भएको छ । मुख्य बजार क्षेत्रमै ढलको उचित निकास नहुँदा सडकबाटै भेल बगेको हो ।

बुटवलका मुख्य बजार क्षेत्रहरु गोलपार्क, लक्ष्मीनगर, ट्राफिकचोक, अस्पताल लाइन हुँदै नयाँ बसपार्कसम्म सडक हिलाम्य छ । राजमार्ग चौराहा–गोलपार्क ६ लेन सडक विस्तारको काम समयमै नहुँदा यो समस्या आएको स्थानीयले बताएका छन् । अन्धाधुन्ध सडक निर्माणले सास्ती थपेको सर्वसाधारणको भनाइ छ ।

यता, विराटनगरमा भने अविरल वर्षासँगै सिंघिया खोलाको बाढी वडा नं. ८ को खोला किनारका बस्तीमा पस्दा २५ परिवार विस्थापित भएका छन् । विस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।