
सुनसरी । जिल्लाको इटहरी उपमहानगरपालिका जलमग्न भएको छ । अविरल बर्षाका कारण पानीको निकास हुन नपाएपछि इटहरीको मुख्य बजार क्षेत्र र विभिन्न बस्ती डुबानमा परेको हो ।
सोमबार रातिदेखि परेको बर्षातका कारण ट्याङ्ग्रा खोला र खती खोलामा आएको बाढी बस्तीमा पसेको छ । बाढीका कारण इटहरी–विराटनगर सडकखण्ड पुरै डुबेको छ । यातायातका साधन जोखिमका साथ सञ्चालन भइरहेका छन् ।
इटहरीको साथी पेट्रोल पप्प छेउबाट ट्याङ्ग्रा खोलाको बाढीका कारण बाहिर निस्कन समेत नसकिएको इटहरीका स्थानीय राजकुमार आचार्यले बताउनुभयो । तत्काल बाढी नियन्त्रण गर्न र निकास खुलाउनपर्ने उहाँको माग छ ।
इटहरीको ४, ५, ९, १० र १२ वडामा बाढीले धेरौ क्षति पुर्याएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो । इटहरी नगरपालिकामा मात्र २ सय घर डुबानमा परेको उहाँले बताउनुभयो । घर डुबानमा परे पनि मानवीय क्षति नभएको उहाँको भनाइ छ ।
इटहरीका मेयर हेमकर्ण पौडेलले बाढीपीडितलाई सुरक्षित स्थान सार्ने तयारी भइरहेको बताउनुभयो । इटहरीका २० वटै वडाअध्यक्ष सहितका जनप्रतिनिधिहरू नागरिकको सुरक्षाका लागि परिचालित भएको उहाँले जानकारी दिनुभयो ।
ट्याङ्ग्रा खोला बस्तीमा पसेपछि जिल्ला प्रशासन कार्यालयले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर खोला नियन्त्रणको काम थालेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
बर्षात नरोकिएकाले स्थानिय वासिन्दालार्य घरमै सुरक्षित रहन उहाँले आग्रह गर्नुभयो । सर्वसाधारणको सुरक्षा र उद्धारका लागि आवश्यक सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।
पछिल्लो समय अव्यवस्थित बसोवास र पानीको निकासविना जग्गा प्लटिङ बढ्दा इटहरी डुबानमा पर्ने गरेको छ । नदी तथा खोलासमेत अतिक्रमण गर्दा बर्षातमा खोलाको बाढी बस्ती पस्ने गरेको छ । समयमै अतिक्रमित खोला खाली नगरिए बाढीले भयावह नल्याउला भन्न सकिन्न ।
प्रतिक्रिया दिनुहोस्