
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले संघीयता सफल पार्नुको विकल्प नरहेको बताएका छन् ।
मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै उनीहरूले संघीयता नै देशको चार खम्बामध्येको एक भएको बताए । यस्तै उनीहरूले दुई तहको संघीयता राज्यले अपनाउनुपर्नेमा जोड दिए ।
संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको बताउनुयो । संघीयता, गणतन्त्र, लोकतन्त्र र समावेशिता संविधानको चार खम्बा रहेको उल्लेख गर्दै उहाँले कुनै एक खम्बा झिकेर अरु खम्बालाई बचाउन नसकिने बताउनुभयो ।
नेता लेखकले राजनीतिक अस्थिरताका कारण संघीयता कार्यान्वयनमा असर परिरहेको बताउनुभयो । राजनीतिक अस्थिरताका कारण पार्टी फुट्ने र सरकार परिवर्तन हुने गर्दा प्रदेश सभाहरूले चाहेजस्तो काम गर्न नसकेको उहाँले बताउनुभयो ।
प्रदेश र स्थानीय तहमा अधिकार, जनशक्ति, स्रोत, साधन, विज्ञता र आर्थिक पारदर्शिताको अभाव रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभाका पूर्व सांसद सुरेन्द्रराज पाण्डेले जनताले अपेक्षा गरे अनुसार संघीयताको फल पाउन नसकिएको बताउनुभयो । उहाँले दुई तहको संघीयताको बारेमा बहस गर्ने बेला भएको बताउनुभयो ।
संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियारले संघीयता विरोधीहरूले संघीयता कार्यान्वयनको प्रक्रियामा भाग लिइसकेकाले संघीयता चाहिँदैन भन्नु असान्दर्भिक भइसकेको बताउनुभयो ।
उहाँले संघीयतामार्फत सुशासन र तीव्र आर्थिक विकास दिन खोजिएको उल्लेख गर्दै त्यसो गर्न नसकेमा संघीयताको मर्मबाट वञ्चित हुने बताउनुभयो ।
परियारले प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषय कसैको प्राथमिकतामा नपरेको बताउनुभयो । उहाँले संघीय सरकारले प्रदेश र स्थानीय तहमा अधिकार प्रत्यायोजन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
परियारले संघीयता सफल बनाउन प्रदेश सरकारले स्पष्ट आर्थिक मार्गचित्र दिनुपर्ने पनि बताउनुभयो । साथै प्रदेश सरकारले नीजि क्षेत्र र सहकारी क्षेत्रलाई पनि सँगै लिएर हिँड्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्