
काठमाडौं । नर्थ एटलान्टिक सहयोग संगठन नेटोमा सामेल हुने फिन्ल्याण्ड र स्वीडेनको चाहनालाई टर्कीले पनि समर्थन गर्ने भएको छ ।
विशेष गरी फिनल्याण्डको सदस्यतालाई लिएर टर्कीको सहमति रहँदै आएकोमा स्पेनको मड्रिडमा नेटो सम्मेलन सुरु हुनु अघि मंगलबार भएको ४ घण्टा लामो छलफलपछि टर्की फिनल्याण्ड र स्वीडेन विरुद्धको अडान छाड्न तयार भएको हो ।
टर्कीका राष्ट्रपति रिसेप ताइप एर्डोगान र नेटो महासचिव जेन्स स्टोलटेन्बर्गले छुट्टाछुट्टै विज्ञप्ति मार्फत टर्की, फिनल्याण्ड र स्वीडेनबीच सहमति भएको जनाएका हुन् । उनीहरूले एक अर्का देशको सुरक्षा खतराको विरुद्ध आफ्नाे पूर्ण समर्थन प्रदान गर्ने सहमति पत्रमा पनि हस्ताक्षर गरिसकेका छन् ।
अहिलेसम्म आफूलाई तटस्थ राष्ट्र दावी गर्दै आएका उत्तर युरोपेली यी दुई राष्ट्र नेटोमा सामेल हुनुलाई युरोपमा नेटो विस्तारको फड्को भनिएको छ । रुस भने थप रुष्ट बनेको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनलाई सहयोग गर्ने बहानामा पश्चिमा राष्ट्रहरू आ-आफनो देशको रक्षात्मक सैन्य गठबन्धन विस्तार गर्न लागिपरेको आरोप लगाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्