
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोको साम्राज्यवादी महत्वाकांक्षा तीब्र भएको आरोप लगाउनु भएको छ ।
युक्रेन द्वन्द्व माफर्त उनले आफ्नो साम्राज्यवादी महत्वाकांक्षालाई युरोपमा विस्तार गर्न खोजेको आरोप पनि पुटिनले लगाउनु भएको छ । अहिलेसम्म तटस्थ राष्ट्र दाबी गर्दै आएका स्वीडेन र फिनल्याण्डले पनि नेटो सदस्यता लिने तयारी थालेपछि रुसी राष्ट्रपतिको यस्तो टिप्पणी आएको हो ।
रुसको राष्ट्रिय टेलिभिजनसँगको कुराकानीमा पुटिनले युक्रेनसँग जस्तो रुसको स्वीडेन र फिनल्याण्डसँग समस्या नरहेको भन्दै उनीहरू नेटोमा सामेल हुनसक्ने बताउनुभयो । तर, स्वीडेन र फिनल्याण्डमा सैनिक तैनाथी गरियो भने रुसले आफ्नो सुरक्षामा चुनौती थपिएको ठान्ने र त्यतिबेला उचित जवाफ दिने चेतावनी पनि दिनुभयो । स्वीडेन र फिनल्याण्डको नेटो सदस्यताको तयारीबारे पूर्व सोभियत राज्यहरू तथा मध्य एशियाली देशका नेताहरूसँगको छलफलपछि पुटिनले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।
स्वीडेन र फिनल्याण्डसँग रुसको सम्बन्धबारे टिप्पणी गर्दै पुटिनले भन्नुभयो “अहिलेसम्म सबैकुरा ठीकै थियो तर अब रुसको सुरक्षा चुनौति बढ्ने भएकाले पक्कै पनि तनाव उत्पन्न हुनसक्छ” । पछिल्लो समय रुसी सेनाले युक्रेनमा निकै योजनावद्ध कारबाही गरिरहेको भन्दै उहाँले गैरसैनिक नागरिकहरू हताहत हुने गरी आफ्ना सेनाले आक्रमण नगरेको दाबी पनि गर्नुभयो । पुटिनले युक्रेन युद्धको जिम्मेवार पनि नेटो भएको जिकीर पनि गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्