७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


फिलिपिन्समा नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले लिए पदको शपथ


52
Shares

काठमाडौं । फिलिपिन्समा नवनिर्वाचित राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले पदको शपथ लिएका छन् । मार्कोसले निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको उत्तराधिकारीका रूपमा शपथ लिएका हुन् ।

बोङबोङ उपनामले चिनिने ६४ वर्षीय मार्कोसले प्रतिष्पर्धी लेनी रोब्रेडोलाई पराजित गरेसँगै ३६ वर्षपछि फिलिपिन्सको सत्तामा पूर्व तानाशाह मार्कोसको परिवार पुगेको हो ।

सन् १९८६ को जनविद्रोहपछि पदच्युत गरिएका तानाशाह मार्कोसका छोरा मार्कोस जुनियर निवर्तमान राष्ट्रपति डुटेर्टेसँगको सहकार्य मार्फत् फिलपिन्सको सत्तामा पुगेका हुन् ।

यसैगरी, उपराष्ट्रपतिमा निर्वाचित निवर्तमान राष्ट्रपति डुटेर्टेकी छोरी सारा डुटेर्टेले पनि शपथ लिएकी छिन् । मनिलास्थित राष्ट्रिय सङ्ग्रहालयमा आयोजित कार्यक्रममा सयौँ स्वदेशी तथा विदेशी सहभागी भएका थिए ।

सन् १९६५ देखि १९८६ सम्म देशको नेतृत्व गरेका उनका बुबा फर्डिनान्डले सैनिक कानुन लागू गरी सत्तामा बसेका थिए । त्यसक्रममा उनको नेतृत्व अवधिमा देशभरि मानवअधिकारको चरम हनन र भ्रष्टाचार भएको थियो । जनविद्रोहबाट लखेटिएका बोङबोङसहित मार्कोस परिवार देश छोडेर अमेरिकाको हवाई गएर बसेका थिए । लामो समय राजनीतिमा रहेका उनी सन् १९९१ मा फिलिपिन्स फर्केर फेरि सत्तामा फर्कने मौकाको खोजिमा थिए ।

त्यही क्रममा यस पटक भएको निर्वाचनमा सामाजिक सञ्जालको व्यापक अभियान चलाएर उनले आफ्नो बाबुले गरेको अत्याचारबारे अनभिज्ञ युवा मतदातालाई आफूतिर आकर्षित गराउन सफल भएका थिए । त्यसक्रममा उत्तरी फिलिपिन्सको मार्कोस र दक्षिणी मिन्डानाओ टापुका डुटेर्टेको दुई सम्भ्रान्त परिवारले राजनीतिक शक्ति संयोजन गरी आफ्नो जीत सुनिश्चित गराएका हुन् ।

लागू औषधविरोधी अभियानका नाममा मानवअधिकारको चरम उल्लंघन गरेको आरोप निवर्तमान राष्ट्रपति डुटेर्टेलाई पनि लाग्दै आएको छ ।