
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा बिहीबार आयोजित एक समारोहका बीच अर्यालले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
गृह मन्त्रालयको सचिवस्तर असार १३ गतेको बैठकको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ३७ जना र १४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, सञ्चार तथा ईन्जिनियरिङ्गतर्फका २ जना गरी कूल ३९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरू सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका हुन् ।
समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले पदोन्नती भएका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई बधाई तथा कार्य सफलताको शुभकामना दिनुभयो । उहाँले दर्जा अनुरुपको प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक भएर सकारात्मक सोच र इमान्दारिताका साथ निर्वाह गर्न निर्देशन दिनुभयो ।
महानिरीक्षक अर्यालले संगठन सशस्त्र प्रहरी कर्मचारीहरूको सरुवा बढुवा तथा वृत्तिविकास समय सापेक्ष र वैज्ञानिक ढंगले न्यायोचित हुने गरी पद्धती विकास गर्दै कार्यान्वयनमा लगेको बताउनुभयो ।
राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूले आफ्नो पेशागत दक्षता अभिवृद्धि र मातहतका कर्मचारीलाई प्रशिक्षित गर्दै विपद् उद्धार लगायत राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा इमान्दार, वफादार र कटिबद्ध भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतका साथै सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्