२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


भिटामिन डी थ्रीकाे मात्रा मापदण्ड भन्दा ४ सय गुणा बढी


1.027k
Shares

काठमाडौं । नवजात शिशुमा प्रयोग हुने ‘भिटामिन डी थ्री ड्रप्स बायोडी’ नामक औषधिमा भिटामिन डी थ्रीको मात्रा चार सय गुणा बढी देखिएको छ ।

नेपाली सेनाले आफ्नो मातहतका अस्पताल र स्वास्थ्य शिविरहरूमा प्रयोग गर्नका लागि भारतीय औषधि कम्पनी जी ल्याब्रोटरीबाट खरिद गरेको भिटामिन डी थ्री बायोडी भिटामिनमा डी थ्रीको मात्रा मापदण्ड भन्दा ४ सय गुणा बढी पाइएको सेनाले जनाएको हो ।

नवजात शिशुहरूमा यो औषधि प्रयोग गरिएको केही महिनापछि मिर्गौलामा पत्थरीको समस्या देखिएपछि वीरेन्द्र सैनिक अस्पतालले छानबिन थालेको थियो । अस्पतालले भक्तपुरको ज्येस्ट ल्याब्रेटरिज्मा सन् २०२२ मार्च २२ र २४ मा परीक्षण गर्दा सो भिटामिनमा मापदण्डभन्दा करिब ४ सय गुणा बढी डी थ्रीको मात्रा पाइएको हो ।

भारतीय कम्पनी उत्पादक रहेको सो औषधि नेपाली कम्पनीले आयात गरेको हो । परीक्षणपछि सैनिक अस्पतालले औषधि व्यवस्था विभागलाई औषधि मापदण्डविपरीत भएको भन्दै जानकारी तथा आवश्यक कारबाहीका लागि गत चैतमै पत्राचार गरेको थियो । तर पत्राचार गरेको ३ महिना बितिसक्दा पनि विभागले भने साेही विषयमा छानबिन प्रक्रिया अघि बढाएको छैन् ।

बरु जी कम्पनी र यसका उत्पादनहरू विभागमा दर्ता नभएको भन्दै सेनाले आफ्नै माध्यमबाट नेपालमा दर्ता नै नभएको औषधि भित्रयाएको आरोप विभागले लगाएको छ ।