१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै


273
Shares

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनका नेताहरूले बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको स्थलगत निरीक्षण गर्ने भएका छन् ।

काठमाडौंबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूको टोली निजगढ भ्रमणमा जाने बताइएको छ ।

प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा जान लागेका हुन् ।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा आउन लागेका हुन् ।

सर्वोच्च अदालतले गत बुधवार विमानस्थलसम्बन्धि मुद्दाको फैसला गर्दै निर्माण गर्ने जिम्मा सरकारलाई दिएको थियो । जैविक विविधतायुक्त घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ ।

यता, निजगढका स्थानीयले भने सर्वोच्चको यसअघिको फैसलापछि निजगढमै विमानस्थल निर्माण गरिनुपर्ने भन्दै पूर्वपश्चिम लोकमार्गमा गर्दै आएको रिले अनसन बिहीबारबाट अन्त्य भएको छ ।

विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको पूर्णपाठलाई सकारात्मक भन्दै समितिले २४ दिनअघि देखि गर्दै आएको रिले अनसन अन्त्य गर्ने निर्णय गरेको हो ।