११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोडसम्म


0
Shares

काठमाडौं, साउन ३० । स्थानीय तहले भवन निर्माण गर्न रु पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोड पाउने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

मन्त्रालयले उक्त रकम बाँड्न अहिले ‘स्थानीय तहको भवन प्रशासनिक निर्माणसम्बन्धी कार्यविधि–२०७५’ ल्याउन लागेको छ ।

मन्त्रालयले महानगरको भवन निर्माण गर्न रु १५ करोड, उपमहानगरपालिकालाई रु १० करोड, नगरपालिकालाई रु ८ करोड र गाउँपालिकालाई रु पाँच करोड रकम दिने भएको छ । आफ्ना भवन नहुँदा स्थानीय तहलाई काममा समस्या भएको छ ।

‘सबै स्थानीय तहको भवन तीन वर्षभित्रमा बनाउन हामीले बजेट विनियोजन गरेका हौं’–उनले भने ।

मन्त्रालयले सबै वडा कार्यालयका लागिसमेत बजेट विनियोजन गरेको छ ।

प्रवक्ता अधिकारीकाअनुसार कार्यविधिमा महानगर र नगरपालिकाका वडा कार्यालय बनाउन रु एक करोड ५० लाख र गाउँपालिकाका वडा कार्यालय बनाउन एक करोड दिइने उल्लेख छ ।

७५३ स्थानीय तहमा करिब ६ हजार ६६८ वडा कार्यालय छन् । रासस