
काठमाडौं । राजनीतिक गतिरोधको विरोधमा उत्रेका प्रदर्शनकारीले लिबियाको संसद भवनमा आक्रमण गरेका छन् ।
प्रदर्शनकारी पूर्वी सहर टोब्रुकमा रहेको लिबियाको संसद भवनमा प्रवेश गरी आगजनी उत्रिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । संसद भवन खाली भएकाले कुनै मानवीय क्षती नभएको समाचारमा उल्लेख छ ।
निरन्तर बिजुली कटौती, मूल्यवृद्धि र राजनीतिक गतिरोधको विरूद्ध राजधानी त्रिपोलीसहित अन्य शहरहरूमा पनि विरोध प्रदर्शन भएका छन् । प्रदर्शनकारीले संसद विघटन गरी नयाँ चुनाव गर्न माग गरेका छन् ।
सन् २०११ मा नेटो समर्थित विद्रोहले लामो समयसम्म शासन गरेका कर्नल मुअम्मर गद्दाफीलाई अपदस्थ गरेपछि लिबियामा अस्थीरता छाएको छ ।
सन् २०२० मा सुरु भएको शान्ति प्रक्रियाले देशलाई एकसाथ जोड्ने प्रयास गरेको छ । तर, डिसेम्बरमा निर्धारित निर्वाचन रोकिएपछि पूर्वीय संसदले अब्दुल हमिद डबेबाहको अन्तरिम एकता सरकारको म्याद सकिएको र उनको स्थानमा फाथी बाशाघालाई नियुक्त गरेको बताएको छ ।
यही महिनाको सुरुमा पश्चिमी लिबियाका दुई प्रभावशाली मिलिशियाबीच झडप भएको थियो । उक्त भडपमा बाशाघाको वफादार मिलिशिया र अब्दुल हमिद दबेबाहलाई समर्थन गर्ने स्टेबिलिटी सपोर्ट फोर्सको संलग्नता रहेको खुलासा भएको थियो ।
दुवै पक्षले सरकारको नेतृत्वमा आफ्नो दाबी रहेको विषयलाई लिएर भएको प्रतिष्पर्धाका कारण हिंसा भड्किएको समाचारमा उल्लेख छ ।
पछिल्लो समय सरकार समर्थक र विपक्षीहरूबीच बारम्बार झडप हुन थालेपछि मतदानको लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघको मध्यस्थतामा जेनेभामा भएको वार्ता असफल भएको थियो ।
भर्खरका हप्ताहरूमा त्रिपोलीमा सशस्त्र समूहहरूबीच झडप भइरहँदा पूर्ण स्तरको द्वन्द्वमा फर्किने डर पैदा गरेको अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्