
बुटवल । लुम्बिनी प्रदेश सरकारले जनजाती समुदायबाट उत्पादन हुने पेय पदार्थ (स्थानीय/लोकल रक्सी)को बजारीकरण गर्ने भएको छ ।
प्रदेश सरकारको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनजाती समुदायबाट कोदो, मौवा, अनदी, कुरीलोबाट उत्पादन हुने पेय पदार्थको प्याकेजिङ्ग, ब्राण्डिङ्ग र बजारीकरण गर्नको लागि अध्ययन समेत गरेको छ ।
मन्त्रालयले विज्ञहरूसँग छलफल गरेर तयारी सुरु गरेर साउनदेखि काम थालनी गर्ने तयारी गरेको छ । भदौ महिनादेखि प्रदेशका चार स्थानबाट समुदाय स्तरबाट उत्पादन गर्दै आएको पेय पदार्थको बजारीकरण सुरु हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले जानकारी दिनुभयो ।
मगर, थारु, गुरुङ्ग, कुमाल समुदायले कोदो, मौवा, अनदीको चामल, कुरीलो, मकै, शालको मुनाबाट उत्पादन गर्ने पेय पदार्थलाई बजारीकरण गर्ने पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले बताउनभयो । यसबाट १ देखि ५ लाख जननले रोजगारी सिर्जना हुने उहाँको भनाइ छ ।
प्रदेश सरकारले दाङ, रोल्पा , पाल्पा, रुकुमबाट पेय पदार्थको उत्पादन र बजारीकरण सुरु गर्ने तयारी गरेको हो । आगामी आर्थिक वर्ष लागि प्रदेश सरकारले २ करोड बजेट छुट्टाएको र माग अनुसार बजेटको व्यवस्थापन गरिने पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्