
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनि कृषिमन्त्री यादवलाई प्रश्न समेत गर्नुभयो ।
उहाँले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट अखिल नेपाल किसान महासंघलाई कडा निर्देशन दिनुभयो ।
महासंघले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले किसानले मल नपाइरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोश समेत व्यक्त गर्नुभयो ।
उहाँले किसानसँग सरोकार राख्ने हरेक विषयमा महासंघले सरकारलाई बुझ्ने भाषामा दवाव दिनुपर्नेतर्फ सचेत गराउनुभयो ।
अध्यक्ष ओलीले आफूले सरकार छोडेको एक वर्षमै ४९ अर्ब चामल आयात गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले कृषिप्रधान देशमा, उर्वर जमिन भएको देशमा एक वर्षमा ठूलो परिणाममा चामल आयात गर्नु अशोभनीय भएको बताउनुभयो ।
अध्यक्ष ओलीले ६० प्रतिशतभन्दा बढि जनसंख्या कृषिमा आधारित भएको देशमा हामी किन खाद्यन्नमा आत्मनिर्भर हुन नसकेको भनि सरकारलाई प्रश्न समेत गर्नुभयो । उहाँले सरकारले कृषि क्षेत्रको उत्थान हुने गरी केही पनि काम गर्न नसकेको आरोपसमेत लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्