१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बजेटका पक्षमा उभिन माओवादीले दियो आफ्ना सांसदलाई निर्देशन


117
Shares

कैलाली । सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलले बजेटका पक्षमा उभिएर पारित गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

सुदूरपश्चिममा बजेटमाथिको छलफल सुरु गर्न प्रदेश सभा बैठकै बस्न नसकिरहेको अवस्थामा माओवादीले आफ्ना सांसदहरुलाई उक्त निर्देशन दिएको हो ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको विवादले प्रदेश सभा सञ्चालन हुन सकेको छैन ।

प्रदेश सभा सचिवालयले यसअघि तीन पटक बैठकको कार्यसूची तयार गरेको भए पनि सत्तारूढ दलहरू माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) कै सांसदको विरोधका कारण बैठक सुरु नै हुन सकेको छैन ।

बिहीबारका लागि बोलाइएको बैठक पनि सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

यता सत्तारूढ दल कांग्रेस र एकीकृत समाजवादीका सांसदहरुको भने बजेटप्रतिको असन्तुष्टि कायमै छ । मन्त्रीहरु स्वयं पनि बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै सच्च्याएर अघि बढ्नुपर्ने बताइरहेका छन् । सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६४ लाखभन्दा बढीको बजेट ल्याएको छ ।