१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विनोद शाहीको मृत्यु प्रकरणका पञ्चदेवलकी मेयर चलाउने पक्राउ


715
Shares

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छिन् ।

चलाउनेलाई १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । गत ३० वैशाखको स्थानीय तह निर्वाचनका दिन पञ्चदेवल नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । त्यसपछि केही समय मतदान समयपनि रोकिएको थियो । बिवाद हुनुमा कांग्रेस र एमालेका कार्यकर्ताले एक अर्कालाई दोष लगायका थिए । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए । एमाले कार्यकर्ताले आफूहरुमाथि कुटपिट गरेको भन्दै कांग्रेस कार्यकर्ताले स्थानीय प्रशासनमा जाहेरी दिएका थिए ।

जाहेरी दिएका व्यक्तिहरुलाई १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दुबै पक्षबीच दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए । शाहीको शव जेठ २० गते भेटिएको थियो । जेठ २६ गते शाहीका परिवार र आफन्तले नवनिर्वाचित मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले यसअघि नै ५ जनालाई पक्राउ गरिसकेको थियो ।

चलाउनेसँगै अर्का एक आरोपित शनिबार साँझ प्रहरीकहाँ स्वयं उपस्थित भएका आछाम प्रहरीले जानकारी दिएको छ । चलाउनेसहित सात जनालाई प्रहरीले आइतबार २ दिनको म्याद थप गरी हिरासतमा राखेको छ । चलाउने गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएकी हुन् । २०७४ को निर्वाचनमा चलाउने सोही नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन् ।तर मेयर चलाउने निकटका व्यक्तिहरुले भने उनलाई प्रहरीले पक्राउ गरेको नभई उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको दाबी गरेका छन् ।