
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह चुनावमा नेपाली कांग्रेस इमानदार र गम्भीर नभएको समीक्षा गरेको छ ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रमा जस्तो समझदारी स्थानीय तहमा हुन नसकेको बताइएको छ ।
सरकारमा सहभागी दलहरूबीचको चुनावी गठबन्धनबारे नेतृत्व तहमा भएको समझदारी र आवश्यकताको महसुस स्थानीय तहमा नदेखिएको दाहालको प्रतिवेदनमा उल्लेख छ ।
खासगरी नेपाली कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमानदार र गम्भीर नपाइएको अध्यक्ष दाहालको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तह चुनावपछि पहिलो पटक आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकमा दाहालले राजनीतिक प्रतिवदेन प्रस्तुत गर्नुभएको हो ।
प्रतिवेदनमा रोल्पा, रुकुम, सल्यान, कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक जिल्ला र त्यसबाहेक माओवादी बलियो रहेको स्थानीय तहमा कमजोर बनाउन नेकपा एमालेसँग मिलेर पराजित गर्ने वा कमजोर बनाउन खोजेको उल्लेख छ ।
त्यसैगरी कांग्रेसले आफू बलियो रहेको स्थानमा अन्य दलहरूको गठबन्धन बन्न नदिने नीति लिएको बताइएको छ । कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्नो उम्मेदवारलाई सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा दिँदा अत्यधिक मत बदर भएको माओवादीको ठहर छ ।
दाहालको प्रतिवदेनमा नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक हैसियतभन्दा बढी सीट दाबी गर्दा सिट बाँडफाँटमा समस्या देखिएको र कतिपय स्थानमा पराजित भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्