३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


सांसदहरूलाई वैदेशीक लगानीका विषयमा दिक्षित गर्नुपर्छ : पूर्वगभर्नर क्षेत्री


78
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सांसदहरूलाई वैदेशीक लगानीका विषयमा दिक्षित गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार संसद भवनमा आर्थिक कुटनीति प्रवर्द्धनमा सांसदको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले सांसदहरूलाई वैदेशीक लगानीका विषयमा दिक्षित गर्नसके मुलुकले लक्ष्य निर्धारणअनुसार वैदेशीक स्रोत र साधन परिचालन गर्न सक्ने दाबी गर्नुभयो ।

पूर्वगभर्नर क्षेत्रीले एमसीसी नेपालमा कार्यान्वयन गर्ने विषयमा सबैसँग एमसीसी लागू गर्ने शर्तका विषयमा जानकारी नहुँदा अन्तरबिरोध भएको बताउनुभयो । उहाँले गरिबी निवारणको लागि सरकार इमान्दार नभएसम्म सधैँ विदेशीको आश गर्नुपर्ने अवस्था रहने बताउनुभयो ।

पूर्वगभर्नर क्षेत्रीले मुलुक र जनतालाई केन्द्रविन्दुमा राखेर सांसददेखि जनता सबैले योगदान गरे देश विस्तारै आत्मनिर्भर हुने बताउनुभयो । क्षेत्रीले सरकार इमान्दार भएर आत्मनिर्भर बनेपछि मात्रै विदेशीहरु नेपालमा अवसर खोज्दै आउने दाबी गर्नुभयो ।

पूर्वगभर्नर क्षेत्रीले नेपालमा अहिले वैदेशीक साहयताका रूपमा आएको पैसा खर्च गर्न नसकेर विदेशमा नै फिर्ता गइरहेको बताउनुभयो । उहाँले नेपालमा विदेशबाट आएको सहायतामा २ प्रतिशत मात्रै खर्च हुने र बाँकी विदेशमा नै फिर्ता भइरहेको बताउनुभयो ।

वैदेशीक अनुदान नेपालमा नै खर्च गर्नको निमित्त इमान्दारीता, मेहनत र कार्यान्वयन गर्नसक्ने परियोजना छनोट गरी क्षमता विकास गर्न आवश्यक रहेको पनि बताउनुभयो ।