
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका बहुमत पक्षले वामदेव गौतम पक्षले ज्यान मार्ने धम्की दिएको आरोप लगाएको छ ।
शनिबार अभियानमा सहमागी समाजवादी केन्द्र नेपाल ,आधुनिक नेपाल समाजवादी पार्टी ,नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीको बहुमत सदस्यको बैठकले पार्टीका संयोजक वामदेव गौतमलाई कारबाही गरेपछि आफूहरूलाई गौतम पक्षधरले ज्यान मार्ने धम्की दिएको उनीहरूको आरोप छ ।
वामदेव पक्षधरका सचिवालय सदस्य ओम चालिसेले अभियानका हालका संयोजक युवराज सफल, सचिवालय सदस्यहरू कृष्णगोपाल बञ्झरा, मिननाथ देवकोटा र निलकण्ठ पौडेललाई भौतिक कारबाहीको धम्की दिएको भन्दै संयोजक सफलले गृहमन्त्री बालकृष्ण खाँणसमक्ष सुरक्षा माग गर्नुभएको छ ।
साथै सफलद्वारा जारी विज्ञप्तिमा नेकपा एकता राष्ट्रिय अभियानको नाम प्रयोग गरी जथाभावी प्रेस विज्ञप्ति जारी नगर्न सचेत गराएको उल्लेख छ । विज्ञप्तिमा लेखिएको छ, ‘अभियानको कार्यक्रम नियमित रूपमा संयोजक युवराज सफलकै संयोजनमा अघि बढी रहेको समेत जानकारी गराउन चाहन्छु ।’
आफूहरूको ज्यामाथि केही भएम त्यसको सम्पूर्ण जिम्मेवारी ओम चालिसे र तत्कालीन वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका सदस्य नै हुने सफलद्वारा गृह मन्त्रालयमा दिइएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्