
काठमाडौं । नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले विकास बजेटलाई असार मसान्तमा आएर सक्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवकोटाले आर्थिक वर्षको अन्त्यमा धमाधम विकास बजेटहरू खर्च गर्न थालिएको बताउनुभयो ।
सांसद देवकोटाले वर्षदिनसम्म काम नगरेर बजेट फ्रिज हुने बहानामा असारमा मात्रै खर्च गर्ने परिपाटीले विकासको गतिलाई तीव्रता दिन नसकिने र दिगो विकास नहुने भएकाले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो ।
उहाँले काम गर्ने अख्तियारी पाउनेले आर्थिक वर्षको शुरुमै समयमै काम गर्न र बजेट खर्च गर्न पाउने व्यवस्था गर्नसके असारमा मात्रै खर्च गर्ने प्रवृत्ति निरुत्साहित हुने बताउनुभयो ।
सांसद देवकोटाले खेतीको सिजनमा पनि मल नपाएकाले किसानहरू चिन्तित रहेको बताउनुभयो । उहाँले समयमै मल उपलब्ध गराउन सरकारको ध्यान जानु जरुरी रहेको बताउनुभयो ।
मल ल्याउने प्रक्रिया लामो भएकाले पनि मल आउन नसकेको उल्लेख गर्दै उहाँले फास्ट ट्रयाकबाट रासायनिक मल ल्याउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्