
काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले सार्वजनिक महत्त्वका विषयमा आवाज उठाएका छन् ।
सोमबारको राष्ट्रियसभा बैठकमा विशेष समयमा बोल्दै सांसदहरूले सार्वजनिक महत्त्वका विषयमा सदनलाई जानकारी गराएका हुन् ।
सांसद उदयबहादुर बोहोराले संघीयतालाई सशक्त र बलियो बनाउन तीनै तहको सरकारमा सोही अनुरुपको चिन्तन हुनुपर्ने बताउनुभयो । देश संघीयताको प्रणालीमा गए पनि चिन्तन भने त्यस्तो हुन नसकेको जिकिर गर्नुभयो । तीनै तहको सरकारमा अधिकार बाँडफाँड हुनुपर्नेमा उहाँको जोड छ ।
राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले सरकारले एमबीबीएसको कोटा घटाएकोमा असन्तुष्टि जनाउँदै कोटा नघटाउन माग गर्नुभयो । नागरिकता ऐन ल्याउन सरकारले कन्जुस्याँइ गरेको भन्दै छिट्टै नागरिकता ऐन ल्याउन उहाँले माग गर्नुभयो ।
राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले फेवा ताल भूमाफिया र दलालहरूको चंगुलमा फसेको बताउनुभयो । फेवा तालको निरन्तर दोहन भइरहँदा पनि यसको गरिमालाई धुमिल पार्न सरकारी संयन्त्रहरू नै सक्रिय रहेको उहाँको भनाइ छ ।
सदस्य देवकोटाले फेवा ताल आसपासका सिमसार क्षेत्रमा जग्गा प्लटिङको काम भइरहेको भन्दै त्यसो गर्नुमा शहरी विकास मन्त्रालयको समेत भूमिका रहेको बताउनुभयो । फेवातालको संरक्षणमा तीनै तहको सरकारको ध्यान जानुपर्नेमा उहाँको जोड छ ।
प्रतिक्रिया दिनुहोस्