२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लोसपाद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध

अर्थमन्त्रीले गृहजिल्लामा २० करोड बजेट पठाएकोमा आपत्ति

169
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।

अर्थमन्त्री शैलेन्द्र साहले आफ्नो गृह जिल्ला सप्तरीमा अवैधानिक तरिकाले २० करोड रुपैयाँ दिएको भन्दै लोसपाका सांसदले बैठक अवरुद्ध गरेका हुन् ।

बैठक सुरु हुनासाथ लोसपा सांसद परमेश्वर साहले सप्तरीमा विनियोजन गरेको २० करोड रुपैयाँबारे जवाफ नदिएसम्म बैठक चल्न नदिने बताउनुभएको हो ।

त्यसपछि सभामुख सरोज यादवले अर्थ मन्त्री साहलाई जवाफ दिन भनेपछि साहले प्रक्रिया पुर्‍याएर नै आफूले बजेट दिएको बताउनुभएको थियो । उहाँले सप्तरीका बासिन्दा बाढीको चपेटामा रहेकाले त्यसबाट बचाउन आफूले बजेट दिएको दाबी गर्नुभयो ।

तर, लोसपा सांसद साहले मन्त्रीको भनाइ चित्त बुझ्दो नभएकाले बैठक अवरुद्ध गर्ने बताउनुभयो । उहाँले यसबारे छानविन गर्न संसदीय समिति नबनाइएसम्म बैठक अवरुद्ध गर्ने बताउनुभयो ।

१ असारमा बजेट प्रस्तुत भएपछि प्रदेशसभा बैठक अवरुद हुँदै आएको छ ।