
काठमाडौं । नेकपा (एमाले)का सांसद नवराज सिलवालले प्रविधिको प्रयोग गरेर अपराध गर्ने क्रियाकलापको अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य नरहेको बताउनुभएको छ ।
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिलवालले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रको सुरक्षामाथि खेलवाड गर्ने ढंगले एउटा निकायले गरिरहेको कामलाई हटाएर अरुलाई दिने कुरामा मिनी संसदले सहमति जनाउनु नहुने बताउनुभयो ।
सांसद सिलवालले अध्यागमनको अधिकार नेपाल प्रहरी बाहेक अरुलाई दिन नहुने बताउनुभयो । अध्यागमनमा आफ्नै कर्मचारीले गरेको घोटालाको छानविन त्यही निकायले गर्न नहुने भन्दै नेपाल प्रहरी नै अनुसन्धानको लागि सही विकल्प रहेको बताउनुभएको हो ।
सांसद सिलवालले नेपाल प्रहरीबाट खोसेर अर्को निकायलाई अध्यागमनको अधिकार दिनु भनेको नेपाल प्रहरीमाथिको भरोसा नहुनु भन्ने प्रमाणित गर्नु रहेको बताउनुभयो । उहाँले नेपाल प्रहरीमाथि भरोसा नभएको हो भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्नुभयो ।
नेपाल प्रहरीलाई अनुसन्धानको अधिकारबाट हटाउने कुरामा आफ्नो विमति रहेको सांसद सिलवालले बताउनुभयो । अध्यागमनमा बदमासी रहेको भन्दै प्रणालीगत ढंगले संयन्त्र बलियो बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
सांसद सिलवालले सरकारले अब महानगरीय प्रहरी सिस्टमको बारेमा सोच्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्